३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय नेताको प्रश्नः चीनले हस्तक्षेप गर्दा नेपालीहरु किन बोल्दैनन्?

नयाँदिल्ली– नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) का भारत तर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन्। 

नयाँदिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जतिसक्दो चाँडो नेपालमा भारतीय रेल पुर्याउने बताएका हुन्। उनले भने, ‘हामी जतिसक्दो चाँडै काठमाडौंसम्म भारतीय रेल पुर्याउँछौं। त्यसको लागि मैले पनि स्वयम मोदीजीसँग कुरा गरेको छु।’ कोश्यारीले नेपालमा चिनियाँ रेल आउने कुरा कल्पनामात्रै भएको टिप्पणी गरे। 

फरक प्रसँगमा उनले आफूहरु सम्मिलित ईपिजीले तयार पारेको प्रतिवेदन भारत सरकारले छिट्टै ग्रहण गर्ने सुनाए। प्रतिवेदनलाई लिएर भारतको कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले दाबी गरे। ‘१९५० को सन्धिदेखि कालापानी सीमा विवादसम्मका कुरा हामीले प्रतिवेदनमार्फत अघि समाधानको उपाय सारेका छौं’, उनले भने, ‘यी सबै विषयमा हामीले सहमति खोजेका छौं। प्रतिवेदनमा सबै कुरा समेटेका छौं।’

भारत र बंगलादेशबीच विगतमा रहेका सबैखाले समस्याहरु तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बडो कुशलताका साथ समाधान गरेझैं नेपाल र भारतबीच रहेका सबै समस्याहरु समाधान हुने उनको विश्वास छ। 

कोश्यारीले मोदीलाई नेपाल र नेपालीहरुको हृदयमा बस्न सफल राजनेताको संज्ञा दिए। मोदीले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा आमूल सुधार गरेर चमत्कार नै गर्ने पनि उनले दाबी गरे। उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले मिलेर नै काम गर्ने पनि जनाए। 

चीनले हस्तक्षेप गर्दा किन बोल्दैनन्?

चीनले नेपालमा हस्तक्षेप गर्दा नेपालीहरु कसैले पनि त्यसको विरुद्धमा बोल्न नसकेको पनि उनले गम्भीर आरोप लगाए। कोश्यारीले थपे, ‘चीन, युरोपियन लगायतले नेपालमा खुलेआम हस्तक्षेप गर्दा कोही पनि नेपालीहरु बोल्नै सक्दैनन्। तर, भारतसँग यति घनिष्ठ सम्बन्ध हुँदा पनि जहिल्यै पनि विरोध गर्ने गरिएको छ।’ 

नेपालले अब सडक, पूर्वाधारलगायतको विषयमा द्रुत गतिमा काम गर्नुपर्ने पनि कोश्यारीले सुझाए। नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले यसमा भारतको पूर्ण साथ र सहयोग रहने पनि उनले विश्वास दिलाए। 

प्रकाशित: ११ जेष्ठ २०७६ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App