काठमाडौं - तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्। उनीसँग लामो समय सहयात्रा गरेका केशव बडालले नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन वामपन्थी नेताको रुपमा अग्रणी भूमिका खेलेको बताएका छन्।
भण्डारीसँग २०३४ सालदेखि एउटै कमिटीमा बसेर काम गरेका बडाल र मुकुन्द न्यौपानेले अहिले कम्युनिस्टले प्राप्त गरेको जनमत मदनकै देन भएको बताउँछन्। ०४६ सालको आन्दोलनमा भण्डारीले नेपाली कांग्रेसका नेता गणेशमानसँगको समन्वयमा गरेको काम अतुलनीय रहेको पनि उनीहरुले स्मरण गरे। ‘नेकपा मालेको महासचिव मदन भण्डारी नभएको भए वा कांग्रेसको नेता गणेशमानको संयोजन नभएको भए ०४६ सालको पञ्चायतविरोधी आन्दोलन सफल हुँदैनथ्यो’, नेकपाको नेतासमेत रहेका बडालले भने। त्यसैगरी कार्यपद्धति, कार्यशैली, विचार र सिद्धान्तलाई समेटेर लैजाने नेताका रुपमा स्मरण गर्दै नेता न्यौपानेले जनताबाट लेऊ, जनतालाई देऊ भन्ने भण्डारीको नीति रहेको बताए।
बडाल र न्यौपानेले अहिलेको जनमतको जग नै बहुदलीय जनवाद भएको दाबी गरे। चौथो महाधिवेशनपछि पार्टीको कार्यनीतिका रुपमा अघि आएको बहुदलीय जनवादलाई पाचौं महाधिवेशनले पास गरेपछि यसलाई जनताका बीचमा लैजाने काम भएको र पार्टीलाई लोकतान्त्रिक मूल्यमान्यताअनुसारअघि बढाउन सहज भएको पनि उनीहरुको धारणा छ। उनीहरुले बहुदलीय प्रतिस्पर्धाबिना कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन भन्ने भण्डारीको विचार रहेको बताए।
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा पनि बहुदलीय प्रतिपस्र्धाको मूल सिद्धान्त र कार्यनीतिबाट पछाडि हट्न नसक्ने उनीहरुको भनाइ छ। ‘अहिले हाम्रो पार्टीले जनताको जनवाद भनेको छ त्यसले जनताको बहुदलीय जनवादलाई अस्वीकार गरेको छैन’, न्यौपानेले भने। बडालले पनि बहुदलीय प्रतिस्पर्धाबिना कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताए। जनताको जनवाद भनेको एकलवाद नभएको उनीहरुको धारणा छ। अहिले कम्युनिस्ट आन्दोलन भण्डारीकै विचारको जगमा उभिएर अघि बढेको र यसलाई नेताहरुले समेत आत्मसात् गरेको उनीहरुको भनाइ छ। ‘मलाई लाग्छ, अहिलेको नेतृत्व बहुदलीय प्रतिस्प्र्धाबाट बाहिर गएको अवस्था छैन र त्यस्तो दिन पनि आउने छैन किनकि नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन मदन भण्डारीले खेलेको भूमिकालाई विश्व राजनीतिले पनि महŒवका साथ हेरेको छ’, बडालले भने।
भण्डारीसँग निकट रही काम गरेका प्रदीप नेपालले ‘मदन भण्डारीको सरल जीवनी’ शीर्षकमा लामो लेख नै लेखेका छन्। नेपालका अनुसार भूमिगत भएपछि भण्डारीले मोरङमात्र होइन, सिंगो कोसी अञ्चलको कामको जिम्मा लिएका थिए। मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाको कामको पनि नेतृत्व लिएका थिए। ‘आजीवन पञ्चायतका मुख्य मान्छे भएका सूर्यबहादुर थापाको घर थियो धनकुटामा। धनकुटामा कम्युनिस्ट पार्टीको गतिविधि बढ्ने कुरा ती पञ्चायती प्रधानमन्त्रीलाई सह्य हुने कुरो पनि भएन। ससाना घटनामा उनले चिताइनसक्नुको दमन गराए। धनकुटाको यो विशेष दमन ‘छिन्ताङ हत्याकाण्ड’ भनेर इतिहासमा चिनिन्छ। त्यस काण्डमा एकदर्जन निर्दोष गाउँले मारिए।
भण्डारीको जिम्मेदारीअन्तर्गत पथ्र्यो धनकुटा जिल्ला। त्यसैले छिन्ताङको पीडामा मलम लगाउन आपूm छिन्ताङ जानै पर्छ भन्ने उनलाई लाग्यो। त्यस क्षेत्रमा चर्को दमन भइरहेको थियो। दौरा, सुरुवाल, कोट, टोपी लगाएर लागे मदन भण्डारी उतैतिर। देख्ने भेट्ने कसैले उनलाई काठमाडौंबाट आएको पञ्च भन्ठाने भने गाउँमा रगरगती घुमिरहेका पुलिसले उनलाई गुप्तचरको हाकिम भन्ठानेर सलाम पनि ठोके। मदन भण्डारीले पञ्च र गुप्तचरको हाकिम भएर पनि बाँचेकाहरुको पीडामा मलम लगाएर सबैको मनलाई शान्ति दिने कोसिस गरे’, नेपालले आफ्नो लेखमा उल्लेख गरेका छन्।
जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारीले तत्कालीन नेकपा माले र मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) लाई एकीकरण गराई नेकपा एमाले गठन गर्न महŒवपूर्ण भूमिका खेलेका थिए। उक्त दल बहुलवादी राजनीतिमा आएपछि आमनिर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। सोभियत समाजवाद असफल भएर विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाएका बेलामा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जबजलाई कार्यनीतिका रुपमा अघि सारेका भण्डारीलाई कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने नेताको रुपमा लिइन्छ।
प्रकाशित: ३ जेष्ठ २०७६ ०१:१० शुक्रबार