११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकैपटक ४ पार्टीबीच एकीकरण गर्न राजपाको सुझाव

काठमाडौं - संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकीकरण प्रक्रिया टुंगिनै लाग्दा राष्ट्रिय जनता पार्टी नेपाल र जनमुक्ति पार्टीले एकै पटक ४ पार्टीबीच एकीकरण गर्न सुझाव दिएका छन्। तर नयाँ शक्ति र फोरमका नेताहरूले भने एकैपटक ४ पार्टीबीच एकीकरण गर्न केही दिन समय लाग्ने भएकोले तत्काल दुई पार्टीबीचको एकता अघि बढाउने जनाएका छन्। बिहीबार दिउँसो नयाँ शक्ति पार्टी कार्यालयमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिक संयोजक डा.बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो तथा जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले छलफल गरी पार्टी एकीकरण वार्ता र छलफल गर्दै जाने सहमति जनाएका छन्।

४ पार्टी एकीकरण प्रक्रिया केही दिन लाग्ने भए तत्काल नयाँ शक्ति र फोमरबीच एकीकरण हुने नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डले बताए। उनले भने, ‘नयाँ शक्ति र फोरमबीच एकीकरण टुंगो लागेपछि एकपटक राजपासँग पनि कुरा गरौ भनेर छलफल गरेका हौं। तत्काल ४ पार्टीबीच तत्काल एकता हुन नसके नयाँ शक्ति र फोरमबीच एकता हुन्छ।’ पार्टी एकीकरणका विषयमा निर्णय गर्न फोरम र नयाँ शक्ति दुवै पार्टीले वैशाख २१ मा पार्टीको आन्तरिक बैठक बोलाएका छन्। २१ को बैठकले एकीकरणको तिथि तय गर्ने उनले जनाए। उनले भने, ‘सम्भवत २३ गते एकीकरणको तिथि टुंगो लाग्छ।’

‘नयाँ शक्ति र फोरमबीच एकीकरण टुंगो लागेपछि एकपटक राजपासँग पनि कुरा गरौ भनेर छलफल गरेका हौं। तत्काल ४ पार्टीबीच तत्काल एकता हुन नसके नयाँ शक्ति र फोरमबीच एकता हुन्छ।’

नयाँ शक्ति र संघीय फोरमबीच एकीकरण भए एकीकृत पार्टीको नाम नेपाल समाजवादी पार्टी राख्ने सहमति भएको छ। पाण्डले भने, ‘एकीकृत पार्टीको नाममा समाजवादी शब्द रहन्छ। समाजवादी शब्द अगाडि या पछाडि अरु कुनै शब्द राख्न पनि सकिन्छ।’ स्रोतका अनुसार एकीकृत पार्टीको अध्यक्ष भट्टराई र यादव दुवै हुने सहमति भएको छ। बरियताक्रममा भट्टराई अगाडि हुने भए पनि यादवको भूमिका कार्यकारी अध्यक्षको हुनेछ। बरियताक्रममा तेस्रो नम्बरमा अशोक राई हुनेछन्।
तर महासचिवमा भने भट्टराई, यादव र राईका एक÷एक जना नेता हुनेछन्। राईको कोटाबाट राजेन्द्र श्रेष्ठ महासचिव हुने सम्भावना रहेको स्रोतको भनाइ छ। यादवबाट भने वर्तमान महासचिव रामसाह यादव नै हुने सम्भावना छ।

स्रोतका अनुसार नयाँ शक्तिका संयोजक भट्टराईलाई दुई पार्टी एकीकरण घोषणा गर्नुअघि सरकार छाड्न फोरमलाई सल्लाह दिएका छन्। यादवले भने सरकार छाड्ने÷नछाड्ने निर्णय एकीकरणपछि एकीकृत पार्टीले गर्ने जबाफ दिएका छन्। तर सरकार छाड्ने वा नछाड्ने विषयले पार्टी एकीकरणमा प्रभाव नपार्ने दुवै पार्टीका नेताहरूले जनाएका छन्। स्रोतका अनुसार बैठकमा भट्टराईले यतिखेर प्रतिपक्षीय भूमिका कमजोर रहेको बताउँदै प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउन सरकार छाडी प्रतिपक्षीय भूमिका आउन फोरमलाई सुझाव दिएका थिए। चुनावअघि पनि फोरम र नयाँ शक्तिबीचको एकीकरणको प्रयास गरिएको थियो। त्यसबेला एकीकरणका लागि विधान र घोषणापत्रसमेत तयार भएको थियो तर एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकीकरण प्रयास असफल भएको थियो।

नयाँ शक्तिसँग वार्ता गर्न फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्त टोली बनाएको छ भने नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। दुइ टोलीबीच पटकपटक औपचारिक÷अनौपचारिक वार्ता भएको छ। यसबाहेक फोरमका अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराईबीच पनि छुट्टै संवाद भएको छ।

एकैपटक ४ पार्टीबीच एकता गरौं : राजपा
बिहीबार बसेको नयाँ शक्ति, फोरम, राजपा र जनमुक्त पार्टीबीचको छलफलमा राजपाका नेता राजेन्द्र महतोले नयाँ शक्ति र फोरमबीचको एकता केही दिन रोकी एकैपटक ४ पार्टीबीचको एकीकरण घोषणा गर्न सल्लाह दिएका थिए। बैठकपछि नागरिकसँग उनले भने, ‘हामीले छुट्टाछुट्टै एकता नगरौं। एकैपटक ४ पार्टीबीच एकता घोषणा गरांै भनी सुझाव दियौं। यसमा उहाँहरूले सहमति जनाउनुभएको छ।’ एकैपटक ४ पार्टीबीच एकता भएमा त्यसैले वैकल्पिक राजनीतिक शक्ति निर्माण हुने महतोले बताए। उनले भने, ‘एकैपटक ४ पार्टीबीच एकता गर्दा त्यसले राजनीतिमा राम्रो सन्देश जान्छ भने हाम्रो भनाइ हो।’

बिहीबार दिउँसो ४ दलबीचको वार्तापछि पनि भट्टराई र यादवले छुट्टै कुराकानी गरेका थिए। फोरमका एक पदाधिकारीले भने, ‘नयाँ शक्ति र फोरमबीच तत्काल पार्टी एकीकरण घोषणा नभए एकता प्रक्रियामा भाँड्न विभिन्न शक्ति केन्द्रहरू सक्रिय हुनेछन्। त्यसैले तत्काल एकता घोषण गरांै भन्ने हाम्रो सुझाव हो।’ बैठकमा सहभागी एक नेताले भने, ‘४ पार्टीको बैठकमा एकपटक ४ पार्टीबीच एकीकरण गरांै भनी राजपाको प्रस्तावमा फोरमका अध्यक्ष यादव त्यती सकारात्मक भएको देखिएन। छलफल भइरहेको बेला उहाँ बैठकबाट हिँड्नुभयो।’

प्रकाशित: २० वैशाख २०७६ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App