५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विष्णु पौडलसँगै देउवामाथि पनि छानबिन हुने

काठमाडौं– सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्। 

सुवर्ण शम्शेरको भनाई, रिसइवी साध्ने आशंका, नेपाली कांग्रेसले बचाउमा बोलेको र कांग्रेस सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि छानविन प्रभावित हुने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बाँस्कोटाले दोषी पाइए नेकपा महासचिव विष्णु पौडेलदेखि देउवासम्मलाई कारवाही हुने जवाफ दिए। 

‘कोहीप्रति रिसइवी साध्ने तरिकाले उत्खनन् गरिएको विषय यो होइन। सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छ। यसमा जोकोही पर्नुस् चारतारे, लालतारे। तथ्य र प्रमाणले देखाउँछ भने यसमा कसैलाई पनि छुट दिन सक्दैनौं’, उनले भने। उनले चारतारे भनेर कांग्रेस (देउवा) र लालतारे भनेर नेकपा (विष्णु पौडेल) तर्फ लक्षित गरेका हुन्।  

मन्त्री बाँस्काटाले बालुवाटार जग्गा प्रकरणमा सरकारले छानविन समिति बनाएर काम गरिरहेको भन्दै विष्णु पौडेलको नाम जोडेर सरकारलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाए। ‘विष्णु पौडेलको नाम जोडिएपछि कुण्ठा पोखियो। विषय बाहिर आएपछि यही सरकारले छानविन समिति बनाएको होइन?’ उनले गुनासोसहित प्रश्न गरे, ‘छानविन गरेर थप विवरण अगाडि ल्यायो। सरकारले राम्रो गर्यो भन्नु त कता हो कता, विषयलाई क्षणिक रमाइलोको निम्त प्रयोग गरियो।’

उनले विष्णु पौडेल, सुवर्णंसम्शेर र देउवा जोडिँदैमा छानविन नरोकिने दोहोर्याए। ‘देशको नियम कानुन उल्लंघन गर्नमा जो जोडिए पनि यो सिलसिला सुरु भयो। हामी अन्तका पनि कुरा सुनिरहेका छौं। र अवश्य नै सरकारी सम्पत्तिमा पद वा ओहदा हेरिँदैन्’, मन्त्री बाँस्कोटाले भने। 

प्रकाशित: १९ वैशाख २०७६ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App