coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोरम–नयाँ शक्ति एकता तयारी तीव्र, राजपा–फोरम एकता पत्रमै सीमित

काठमाडौं – लामो समयदेखि एकताको चर्चामा रहेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच बैशाख २३ गते एकता घोषणाको तयारी भएको छ।

उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच २३ गते सोमबार एकता घोषणा गर्ने तयारी भएको स्रोतले बताएको छ।

फोरमका एक शीर्ष नेताका अनुसार अहिले पार्टीको घोषणापत्रको तयारी धमाधम भइरहेको छ। यसअघि निर्वाचनअघि फोरम र नयाँ शक्तिले एकताको प्रयास गरेका थिए। त्यसबेला सैद्धान्तिक विषय सबै टुंगिएको थियो।

तर नेतृत्वका विषय अल्झिँदा एकता रोकिएको थियो। विचार मिल्ने शक्तिसँग फोरमले एकताको प्रयास थाल्ने पछिल्लो पहिलो प्राथमिकतामा नयाँ शक्ति पर्‍यो। पार्टी एकताका लागि डा. भट्टराईले तीन विकल्प अघि सारको फोरम स्रोतको दाबी छ।

भट्टराईले राजपाजस्तो अध्यक्ष मण्डल वा नेकपाजस्तो दुई अध्यक्षको विकल्पअघि सारेका थिए। यस्तै, उनले यसअघि राप्रपा एकता हुँदाजस्तो एक जना अध्यक्ष र अर्को कार्यकारी अध्यक्ष रहने व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका थिए। उनले पदीय हिसाबले डा.भट्टराईलाई पहिलो मान्न तयारफोरम अध्यक्ष यदवले भने दुई अध्यक्ष नहुने बताएका थिए। तर पछिल्लो समय एकजना कार्यकारी अध्यक्षअ र एकजना नाम मात्रको अध्यक्ष राख्न यादव पनि तयार भएको फोरमका एक शीर्ष नेताले बताए।

पार्टी एकतापछि पार्टीको नामका विषयमा पनि छलफल भइरहेको स्रोतले बताएको छ। पार्टी एकता पछि समाजवादी पार्टी, नेपाल नाम रहने सक्ने गरी तयारी भएको फोरमका एक शीर्ष नेताले बताए। ‘नाम त समाजवादी पार्टी, नेपाल नै रहन्छ’, ती नेताले नागरिकसँग भने, ‘हदै भए अगाडि नयाँ थपिएर नयाँ समाजवादी पार्टी, नेपाल रहन सक्छ।’

एकताको विषयमा छलफल गर्न फोरमले शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ भने नयाँ शक्तिको शुक्रबार सचिवालय बैठक बस्दैछ। ‘अहिले एकताका लागि तीव्र रूपमा तयारी भइरहेको छ’, उनले भने, ‘सबै तयारी पूरा भए २३ गते एकता घोषणा हुन्छ।’

फोरमले आफ्नो पहिलो एकताको महाधिवेशन बैशाख २८देखि ३० गतेसम्म गर्दैछ। तर नयाँ शक्तिसँग एकताको अन्तिम टुंगो लागे महाधिवेशन सर्नसक्ने फोरम स्रोतले जनाएको छ।

यता नयाँ शक्ति नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डले भने एकताको टुंगो लागि नसकेको बताए।

‘छलफल सकारात्मक भएको हो। तर बाहिर आएको जस्तो टुंगिएसकेको भने होइन’, उनले नागरिकसँग भने, ‘फोरमसँग मात्र होइन अरू विचार मिल्ने शक्तिसँग पनि एकताबारे कुरा भइरहेको छ। समृद्धि र विकासका लागि हामी हाम्रो पार्टीलाई हिमाल, पहाड र तराईको बनाउन चाहन्छौं।’

राजपा–फोरम एकता पत्रमै सीमित

स्वतन्त्र मधेसको माग गर्दै आएका सीके राउत मूलधारको राजनीतिमा अवतरण भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र फोरमबीचको एकता चर्चा चुलिएको थियो।

राजपा र फोरमले एकताका लागि पटकपटक पत्रचार पनि गरे। यसबीचमा फोरमले दुईपटक पत्र पठायो भने राजपाले पनि समान दुईपटक नै पत्र पठायो।

राजपाले एकताका लागि वार्ता समिति नै बनायो तर फोरम राजपा एकता भने चर्चा र पत्रचार मै सीमित भयो। राजपा–फोरम तत्काल एकता सम्भव नभएको राजपा स्रोत बताउँछ। ‘एकताको चर्चा भइरहेको छ। तर तत्काल सम्भावना छैन’, राजपाका एक नेताले भने, ‘भई हाले आउने निर्वाचनको ६ महिनाअघि मात्रै हुन्छ।’

पछिल्ले समय राजपा–फोरम एकताको विषयमा केही उपलब्धि नभएको राजपा महासचिव केशव झा बताउँछन्। ‘उहाँहरू पनि महाधिवेशनमा केन्द्रित हुनुभयो। हामी पनि पार्टीको आन्तरिक विषयमा बढी केन्द्रित छौं’, उनले भने, ‘अहिले त एकताको विषयमा खासै केही भएको छैन।’

प्रकाशित: १९ वैशाख २०७६ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App