जनकपुरधाम– प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि स्थान छनौट गर्न गठन गरिएको संवाद तथा सुझाव आयोगले बिहीबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ।
प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भइसकेपनि प्रदेशको स्थायी राजधानीबारे टुंगो लाग्न सकेको छैन। प्रदेशको नामाकरणमा पनि दलीय विवाद देखिएपछि छ महिना अघि सरकारले नीति आयोगका उपाध्यक्ष डा.हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो। सुरुमा ४५ दिनभित्र सुझाव संकलनगरी सरकारलाई प्रतिवेदन बुझाउन भनिएकोमा आयोगकै माग अनुरुप दुई महिनाको म्याद थप गरिएको थियो। झाका अनुसार आयोगले थप गरिएको म्याद भित्रै तोकिएको काम पुरा गरे पनि मुख्यमन्त्रीले प्रतिवेदन बुझ्न तयार नहुँदा समय लम्बिएको हो।
प्रदेश मातहतका आठवटै जिल्लामा स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, स्थानीय नागरिक समाज, वकिल, पत्रकार लगायतको सहभागितामा सुझावका लागि छलफल कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै, सात वटा प्रश्न समेटिएको प्रश्नावली बनाएर करिब आठ सय जनाको लिखित विचार पनि संकलन गरिएको थियो। उनीहरुले संवाद, छलफल तथा लिखित प्रश्नको जवाफ दिएर व्यक्त गरेको सुझावकै आधारमा प्रतिवेदन तयार गरिएको झाले बताए।
६४ पृष्ठको उक्त प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले चाँडै मन्त्रिपरिषद्मा छलफल गरी प्रदेश सरकारको प्रस्ताव सहित उक्त प्रतिवेदन प्रदेशसभामा पेश गर्ने जानकारी दिए। ‘प्रदेशको स्थायी राजधानी र नामाकरण सबैको चासोको विषय हो र यो अत्यावश्यक पनि छ’ प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले भने, ‘त्यसैले अब विलम्ब नगरी तत्कालै प्रदेश सरकारले कारवाहीको लागि प्रदेशसभामा पेश गर्नेछ।’
प्रकाशित: १९ वैशाख २०७६ ०८:३५ बिहीबार