८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

काठमाडौं– स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार आवश्यक कागजपत्र मिलाउने कार्य भइरहेको छ। ‘पार्टी दर्ता गराउनका लागि अध्यक्षसहित हाम्रो टोली काठमाडौं आएको छ, सम्भवतः आगामी हप्ता भित्रै पार्टी दर्ता भइसक्ने छ’, सिंहले नागरिकसँग भने, ‘अब पार्टी दर्ता गराएर मात्रै फर्किने हो।’ उनका अनुसार पार्टी दर्ता सम्बन्धी आवश्यक कानुनी छलफल र राय लिने काम भइरहेको छ।

उता, राउत नेतृत्वको टोलीले गृह सचिव प्रेम राईलाई भेटघाट गरी सम्झौता अनुसारको मुद्दा फिर्ता लिनका लागि नामावली पेश गरेको छ। ‘हिजोका अजेन्डा अनुसार पक्राउ परी मुद्दा मामिला झेलिरहेका साथीहरुको मुद्दा फिर्ता र रिहाईका लागि भन्दै सूची गृह सचिवलाई बुझाइसकेका छौं’, सिंहले भने, ‘३ सय ५० भन्दा बढी नाम संकलन गरेर त्यस्तो सूची तयार पारेर दिएका हौं।’ उनका अनुसार गृह सचिव राईले मुद्दा फिर्ता प्रक्रियालाई सम्झौता अनुसार तत्काल अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा आएका राउतले नेपालको अखण्डतासहित संवैधानिक प्रक्रियालाई स्वीकार गरेका छन्। जसअनुसार जनमत पार्टी नामाकरण गरेका डा. राउतको समूह शान्तिपूर्ण रुपमा यतिखेर मुख्यतः तराई मधेसमा संगठन विस्तार तथा सरकारसँग भएको सम्झौताका बारेमा व्याख्या गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मूलधारको राजनीतिमा प्रवेश गरेका राउत त्यसअघि अलग मधेस राष्ट्रको माग गर्दै आन्दोलनरत थिए। 

प्रकाशित: १३ वैशाख २०७६ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App