coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

घनश्याम भुसाल भन्छन्– प्रक्रिया मिचेर एकता टुंग्याइँदै छ

काठमाडौं – तल्लो तहको एकता प्रक्रिया टुंग्याउन भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्दैछ। पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर भोली वैशाख ९ गते एकता प्रक्रिया घोषणा गर्ने नेकपा नेतृत्वले जनाएको छ।

नेकपाकै एक प्रभावशाली नेता घनश्याम भुसालले भने प्रक्रिया मिच्ने तयारी गरिएको भनेर असन्तुष्टि जनाएका छन्। उनले सचिवालय बैठकको निर्णयलाई स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने र त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने माग गरेका छन्। 

‘सचिवालयको बैठकबाटै घोषणा हुने सुनिएको छ। त्यो गलत हो। सचिवालयको निर्णयलाई स्थायी समितिको बैठकमा पेश गर्नुपर्छ। त्यहाँबाट केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ। बल्ल प्रक्रियाले पूर्णता पाउँछ। कुनै पनि चरणको छलफल भएको छैन। यसै पनि राजनीतिक, सांगठनिक निर्णय गर्ने अधिकार भएको समिति स्थायी समिति हो।’ – नागरिकन्युजसँगको कुराकानीमा घनश्याम भुसालले भने।

पूर्व नेकपा (एमाले) का उप–महासचिव एवं हाल नेकपाका स्थायी सदस्य रहेका भुसालले सचिवालयले प्रक्रिया मिचेर शक्ति प्रदर्शन गर्न खोजेको आरोप पनि लगाए। 

उनले कुनै बेला अध्यक्षद्वयलाई दिइएको विशेषाधिकारको दुरुपयोग भएको दावी गरे। ‘के निर्णय हुन्छ भन्ने एउटा महत्वपूर्ण विषय हो। त्यो भन्दा पनि महत्वपूर्ण कसरी निर्णय हुन्छ भन्ने हो। आज सही निर्णय गरिएको आडमा प्रक्रिया अनुसार नहुँदा भोली अनेकौं गलत निर्णय हुनसक्छन्’ – भुसालले भने। 

भुसालले स्थायी समितिमा प्रस्तुत नगरिएको निर्णय वैध नहुने जिकिर गरे।  

 

प्रकाशित: ८ वैशाख २०७६ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App