६ वैशाख २०८१ बिहीबार
राजनीति

‘होली वाइन’ सम्मेलनमा चार करोड सरकारी पैसा खर्च

काठमाडौं– होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ। 

सम्मेलनमा सहभागी हुन आएका अतिथिको स्वागत, सुरक्षा, भोज लगायतका शीर्षकमा सरकारले खर्च गरेको थियो। अर्थ मन्त्रालयले पटक–पटक गरेर उक्त सम्मेलनमा भएको खर्चको भुक्तानी गरेको देखिन्छ। 

अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे खर्च विवरण अनुसार सम्मेलनमा सहभागी विशिष्ठ व्यक्तिका लागि रात्रीभोज खुवाउन ३० लाख १० हजार खर्च भएको छ। यो खर्च भुक्तानीका लागि परराष्ट्र मन्त्रालयलाई रकमान्तर गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ।

यसका साथै सरकारले ३८ लाख ९१ हजार रुपैयाँ अतिथिको सुरक्षाका लागि नेपाली सेनालाई भुक्तानी दिएको छ। अतिथिले प्रयोग गरेको गाडीमा १० लाख ९३ हजार रुपैयाँको इन्धन हालिएको छ। यसका अलावा सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालयले ४५ लाख ४६ हजार रुपैयाँ निकासा लिएको छ।

यसका साथै एक करोड ७१ लाख रुपैयाँ प्रहरीले सुरक्षा व्यवस्थापनका नाममा अर्थ मन्त्रालयबाट बेग्लै निकासा लिएको छ। १२ लाख ८७ हजार रुपैयाँ जनशक्ति व्यवस्थापनको नाममा खर्च भएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ। 

काठमाडौंमा गत मंसिर १४ देखि १६ सम्म भएको उक्त सम्मेलन इसाई धर्म प्रचारका लागि भएको भनेर विवादास्पद भएको थियो। विवादास्पद कोरियाली नागरिक सन प्युङ मनले सन् २००५ मा स्थापना गरेको युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको सो सम्मेलनमा जोडा जोडीलाई होली वाइन बाँडेको घटनाले व्यापक आलोचना पाएको थियो। स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित उपस्थित गराएर होली वाइन समारोहमा उपस्थित गराएपछि चौतर्फी विरोध भएको थियो। कतिपय जनप्रतिनिधिले निम्ता पाए पनि बहिष्कार गरेका थिए।

नेपालमा गरिएको सम्मेलनमा भाग लिन ४५ देशका १५ हजार पाहुना आएका थिए। विभिन्न देशका विशिष्ट अधिकारीलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। गैर–सरकारी संस्थाको कार्यक्रममा सरकारको लोगो प्रयोगको विषयमा सुरुमै आलोचना भएको उक्त सम्मेलनलाई सरकारले उच्च प्राथमिकता दिएपछि झनै आलोचना भएको थियो। 

प्रधानमन्त्री ओलीलाई एक लाख अमेरिकन डलर पुरस्कार दिइएको उक्त सम्मेलनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सक्रिय सहभागिता देखाएका थिए। उनको सहभागिता पार्टीको बैठकमा समेत आलोचनाको विषय भएको थियो।

प्रकाशित: ८ वैशाख २०७६ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App