११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

द्वन्द्व पीडितकाे गुनासाे : रगतको मूल्य सकिएछ

द्वन्द्वका घाइते लवबहादुर रोका र सहिद तेजमान घर्ती दीर्घका छोरा अजय।  तस्बिर : दिनेश/राेल्पा

रोल्पा– दशबर्षे युद्धताका ज्यान गुमाएका सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरु राज्यको उपेक्षाका कारण कुढिन थालेका छन्। हिजो भजाइएको सहिद परिवारको सम्मान अनि घाइते अपाङ्गको अवस्था यतिबेला ओझेल परेको उनीहरुको ठम्याई छ। लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’लगायतका नेताहरु बास बसेको घर पछाडि छानोको जोहो गरेका थवाङका लवबहादुर रोका ‘क. स्याउला’ हिजो आज एक हातले दैनिकी चलाउँदै छन्। उमेरले ६० बर्ष टेकेका उनी २०५९ सालको साउनमा चालाबाङको भिडन्तमा घाइते भएका थिए।

‘हामी अर्घाखाँची रेडको तयारीमा थियौं। त्यही बेला सेनाले राति आएर घेरा हालेछ। भिडन्त भयो। बमले मेरो हात नै लग्यो’, युवा उमेरमा युद्धमा होमिएका थबाङका लवबहादुरले अपाङ्ग भएपछि विवाहको सोच पनि त्यागे। ‘एक्लै छुँ। दुःखसुख दिन काटिरहेको छुँ।’ दुई बर्षसम्म जिल्ला प्रशासन कार्यालयमार्फत आएको जीवन निर्वाह भत्ता बुझे पनि अहिले रोकिएको छ। ‘माथि आफ्ना कोहि भएनन्। पावर हुने सामान्य घाइतेले पनि मासिक जीवन निर्वाह भत्ता पाउछन्, तर हामी हात नै काटिएकालाई कुनै मतलब नै गरिएको छैन। हाम्रो रगतको मूल्य सकिएछ जस्तो लाग्छ।’

युद्धताका मिठा मिठा धेरै आश्वासन सुनेका लवबहादुरले लहलहैमा लागेर भएभरको सम्पत्ति कम्युनमा गाभे, तर आज एक्लै कष्टकर दिनचर्या चलाउँदैछन्। ‘आखिरमा यस्तै हुन्छ भन्ने थाहा पाएको भए आफ्नो मेलो गरेर खाइन्थ्यो। हुँदा खादाको हात किन गुमाउनु पर्थ्याे? हिजो १० बर्ष मर्ने ठाउँमा हामी थापियौं। तर आज हाम्रो कुनै मूल्यांकन नै छैन’

युद्धताका मिठा मिठा धेरै आश्वासन सुनेका लवबहादुरले लहलहैमा लागेर भएभरको सम्पत्ति कम्युनमा गाभे, तर आज एक्लै कष्टकर दिनचर्या चलाउँदैछन्। ‘आखिरमा यस्तै हुन्छ भन्ने थाहा पाएको भए आफ्नो मेलो गरेर खाइन्थ्यो। हुँदा खादाको हात किन गुमाउनु पर्थ्याे? हिजो १० बर्ष मर्ने ठाउँमा हामी थापियौं। तर आज हाम्रो कुनै मूल्यांकन नै छैन’, उनले गुनासो गरे। 

थवाङमा उनीजस्तै धेरै घाइते भएका थिए। असन्तुष्टिकाबीच जीवन चलाइरहेकाहरु मुक्तिका नाममा गुमेको अंगको बाँकी भाग हेर्दै बाँचिरहेका छन्। ‘उहिले पो लडाई थियो। हामी र हाम्रा मान्छेको आवश्यकता थियो। नेताहरुलाई मर्न डर थियो, हामीलाई भिडाए। मर्ने मरिसके। टाठाबाठाहरु त्यही मृत्युमा टेकेर सत्तामा पुगे। अहिले हामी सबैलाई भुले’, द्वन्द्वकालमा बुवा तेजमान घर्ती मगर दीर्घलाई गुमाएका थवाङका घाइते अपाङ्ग अजय घर्ती मगरले दुखेसो पोखे। २०६१ सालको असोजमा तत्कालिन राज्य पक्षले पक्राउ गरि हत्या गरिएका दीर्घ उतिबेला माओवादीको केन्द्रीय सल्लाहकार थिए। 

‘बुवा बाँचेको भए अहिले ठुलै नेता हुनुहुन्थ्यो होला। उहाँ हुँदासम्म सबै थियो तर उहाँको मृत्युसँगै सबै सकियो। आज कोही कसैले के छ खबर पनि भनेर सोध्दैनन्।’ रोल्पाका पुराना र सबैले स्वीकार गरेका नेता दीर्घको परिवार अहिलेको व्यवस्थासँग असन्तुष्ट छ। आर्थिक अवस्थाले झन झन कमजोर हुँदै गएको दीर्घका एक मात्र छोरा ३६ बर्षीय अजय आफू पनि द्वन्द्वकालका घाइते हुन। एउटा हात काटिएका उनी आफू र आफूजस्तै अन्य शहीद परिवारको स्थिति अत्यन्त दयनीय रहेको बताउँछन्।

‘उहिले पो लडाई थियो। हामी र हाम्रा मान्छेको आवश्यकता थियो। नेताहरुलाई मर्न डर थियो, हामीलाई भिडाए। मर्ने मरिसके। टाठाबाठाहरु त्यही मृत्युमा टेकेर सत्तामा पुगे। अहिले हामी सबैलाई भुले’, द्वन्द्वकालमा बुवा तेजमान घर्ती मगर दीर्घलाई गुमाएका थवाङका घाइते अपाङ्ग अजय घर्ती मगरले दुखेसो पोखे।

‘घरको अभिभावक नभएपछि त समस्या हुने नै भयो। मैले भेटे जति सबै सहिद परिवारको बिजोग छ। मेरो पनि हात छैन। आफूले सक्ने सामान्य काम गर्छु। हाम्रा आफन्तको रगत ओभाई सक्यो अब किन सम्झनु प-यो र! ठूलो आश त छैन, राज्यले आफ्नो दायित्व मात्र पुरा गरे हुन्थ्यो। आधारभुत शिक्षा र स्वास्थ्य मात्र हेरे पनि हुने। हुन त आफ्नै पार्टीले हेरेन अरुले के हेर्थे?’ अजयले गुनासो गरे। विभिन्न बिषयमा स्नातक तहमा अध्ययन गरिरहेका ३ बहिनीको पढाई खर्च व्यहोर्न उनलाई हम्मे हम्मे छ। 

‘दुई बहिनीले काम गर्दै पढिरहेका छन्। कान्छीलाई मात्र पनि पढाउन धौ धौ छ। अहिले सम्म त जग्गा बेच्दै पढाउँदै गरेको छुँ। कतिन्जेल पुग्ला र खै।’ काटिएको हातको पटक पटक उपचार गर्नुपर्ने। बहिनीको पढाई, आफ्ना ३ सन्तान पढाउनु हुर्काउनु। चुनौतीका बीच अजयको परिवार यतिबेला थोरै जग्गाको खेती किसानीले धानिएको छ। शान्ति स्थापनापछि गठन गरिएका माओवादी लडाकुका विभिन्न डिभिजन मध्ये पाँचौ डिभिजन अन्तर्गत दीर्घ स्मृति बिग्रेड संग्राम दाङ, यिनै सहिद तेजमान घर्ती दीर्घको नामबाट राखिएको थियो। तर छोरा अजय अहिले त्यहाँसम्म पुग्न पाएनन्। ‘कसैले जाउँ पनि भनेनन्। घरको कामले फुर्सद पनि नहुने।’ 

रोल्पामा तत्कालिन १० बर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको संख्या ९ सय ६९ छ भने ३३ जना बेपत्ता छन्। ढिलो गरि गठन गरेर काम नसकेको भन्दै पटक पटक म्याद थपिएको सत्यनिरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम नगरिदिँदा न्याय र परिपुरणबाट बन्चित अजय र स्याउला जस्ता दर्जनौ द्वन्द्व पीडितहरु अन्यायमा परिरहेका छन्। उनीहरुले आफ्नो रगतको मूल्य सकिएको गुनासो गर्न थालेका छन्। 

प्रकाशित: १६ चैत्र २०७५ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App