काठमाडौं – काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीको रुपमा आउन आदेश जारी गरेको हो।
अमेरिकी डिभी चिट्ठाा परेका एक नेपालीको मुद्दामा साक्षी बकपत्रका लागि दूतावासका प्रतिनिधिलाई बोलाउन आदेश भएको हो। अदालतले ‘प्रिभिलेज’ व्यक्ति हो कि होइन, के का आधारमा मुद्दा चलाइएको हो भन्ने विषयमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।
अदालतले कूटनीतिक विशेषाधिकार लागू हुनेनहुने स्पष्ट गरी परराष्ट्र मन्त्रालयमार्फत् जवाफ दिन बुझ्न आदेश गरेको हो। अमेरिकामा डिभी चिट्ठा परेका दीपक कटुवालले कक्षा १२ उत्तीर्ण शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनको प्रमाणपत्रमाथि दूतावासले शंका गरेपछि छानबिनका लागि पठाएको थियो। राष्ट्रिय परीक्षा बोर्डले कटुवालको शैक्षिक प्रमाणपत्र ‘नट भेरिफाई’ भएर गएपछि उनीमाथि मुद्दा चलाइएको थियो।
जिल्ला अदालत काठमाडौंले कटुवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि बकपत्रका लागि दूतावासका प्रतिनिधिलाई बोलाएको हो। सरकारका जाहेरवाला अमेरिकी दूतावासको पत्रमा गुआन्सी एसिस्टेन्ट रिजनल सेक्युरिटी अफिसर इन्भेन्टिगेटरलाई प्रमाण ऐन २०३१ को दफा १८ को प्रयोजनार्थ बुझ्न बोलाइएको हो।
‘हाल नेपाल र अमेरिकाबीच आपसी कानुनी सहायता सन्धि नभएकाले र निज दूतावासमा काम गर्ने भएकाले निजको हकमा ‘डिप्लोम्याटिक’ प्रिभिलेज लागू हुने नहुने के हो परराष्ट्र मन्त्रालयबाट खुलाउन लगाई बकपत्रका लागि उपस्थित गराउन लगाउनू’ अदालतको आदेशमा भनिएको छ, ‘सरकारका अन्य साक्षी गवाहहरु जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत उपस्थित गराउनू, साथै कन्सुलर विभाग र शिक्षा मन्त्रालयको पत्र अविलम्ब पेस गर्नू।’
प्रकाशित: १३ चैत्र २०७५ ०१:२५ बुधबार