काठमाडौं - अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष निगरानी सुरु गरेको हो। अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।
उजुरी परेपछि प्रारम्भिक छानबिनमा सामान्य सम्पर्क र पत्र नै काटेर बयानमा बोलाउँदै आएको अख्तियारले उजुरीको महŒव हेरेर आरोपितमाथि सूक्ष्म निगरानी थालेको अख्तियार स्रोतको भनाइ छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ४ अनुसार शंका लागेका आरोपितलाई थुनामै राखेर वा धितो/जमानत लिएर तारेखमा छाड्न सकिने र जमानत नबुझाए थुनामै राखेर अनुसन्धान गर्न सकिने उल्लेख छ। तर अख्तियारका आयुक्त राजनारायण पाठक नै जोडिएको घुस प्रकरणका योजनाकार बयानकै क्रममा भागेपछि अख्तियारले विस्तृत अनुसन्धानमा भएका आरोपितमाथि सूक्ष्म निगरानी बढाएको हो। ‘अनुसन्धान भइरहेको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनुपर्ने कुनै मनासिब कारण भएमा वा बिगो हानि–नोक्सानी भएको देखिएमा आयोगले निजसँग प्रचलित कानुनबमोजिम धरौटी वा जायजेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सकिनेछ,’ अख्तियार अनुसन्धान आयोग ऐनको दफा १९ मा भनिएको छ। तर अनुसन्धान टोलीले न्यौपानेलाई अर्को दिन आउने सर्तमा सामान्य अवस्थामै छाडिदियो। अख्तियारबाट उम्किएको भोलिपल्टै न्यौपाने चैत २९ गते फरार भएका थिए।
अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।
पुस ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइएको आर्थिक वर्ष २०७४÷७५ को २८औं वार्षिक प्रतिवेदनमा पनि आरोपितमाथि लागेका कसुरसम्बन्धी अनुसन्धानलाई थप चुस्त र प्रभावकारी बनाउनुपर्ने उल्लेख छ। ७८ लाख घुस प्रकरण र त्यससँग जोडिएका आरोपित न्यौपाने बयानबाटै भागेपछि प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विस्तृत अनुसन्धानमा रहेका मुद्दाको अवस्था र प्रगतिबारे अनुसन्धान अधिकृतहरूलाई कार्यकक्षमै बोलाएर नतिजामुखी अनुसन्धान गर्न निर्देशन दिइसकेका छन्। उच्च स्रोतले भन्यो, ‘कसुरको अवस्था हेरेर थुन्नुपर्ने मानिसलाई थुनेरै र निगरानी राख्नुपर्नेलाई त्यहीअनुसार प्रभावकारी अनुसन्धान गर्नू भन्ने प्रमुख आयुक्तज्यूको स्पष्ट निर्देशन छ।’ कतिपय आरोपित अनुसन्धानकै क्रममा विदेश भाग्न सक्ने आशंकामा नेपाल प्रहरी, अध्यागम विभाग तथा सीमा कार्यालयका संयन्त्रलाई समेत प्रयोग गरेर निगरानी बढाइएको अख्तियार स्रोत बताउँछ।
कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा अख्तियारकै आयुक्त पाठकले न्यौपानेसँग बिचौलियामार्फत ७८ लाख रुपैयाँ घुस लिएको विषयमा अख्तियारमा छानबिन भइरहेको छ। घुस प्रकरणको छानबिन भइरहेका बेला न्यौपाने भागेका थिए। ‘सम्पत्ति विवादसम्बन्धी अनुसन्धानमा रहेका न्यौपाने फरार भएपछि हामीले अवलम्बन गर्दै आएको अनुसन्धान शैलीमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘विगतका विधि, प्रक्रिया र शैलीमा भर परेकै कारण न्यौपाने भागेका हुन्, अब त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाइएको छ।’ अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले अनुसन्धानका क्रममा रहेका आरोपित भागे कानुनले दिएको अधिकारअनुसार अघि बढ्ने स्पष्ट पारे।
‘अनुसन्धानका क्रममा रहेका आरोपित भागेमा भएका तथ्य र प्रमाणले जे भन्छ, त्यसैअनुसार अघि बढ्दै आएका छौं,’ प्रवक्ता कोइरालाले भने, ‘अनुसन्धानलाई असहयोग गर्ने वा भागेर कसुरबाट उन्मुक्ति पाउने आरोपितको योजनाले उल्टै कसुर स्विकारेको पनि बुझ्न सकिन्छ।’ भ्रष्टाचार आरोपितलाई अनुसन्धान अधिकृतले सामान्य तारेखमा, जमानत लिएर वा नियन्त्रणमा लिएर छानबिन गर्न सक्छ।
प्रकाशित: १२ चैत्र २०७५ ०२:४२ मंगलबार