दाङ - रोल्पा थवाङ –३ मिरुलका खेमप्रसाद बुढा मगरका १० वर्ष तत्कालीन ‘माओवादी जनसेना’ बनेर बिते। यो अवधिमा ज्यानको बाजी लगाएर विभिन्न युद्धमा होमिएका उनी त्यो विगतलाई सम्झनसम्म चाहन्नन्। भन्छन्, ‘त्यो इतिहास सम्झनसम्म मन लाग्दैन।’ १० वर्षसम्म बन्दुक समातेर तत्कालीन राज्यसत्ताविरुद्ध लडेका उनले त्यो लडाइँको महत्व त्यतिबेला बुझे जतिबेला क्यान्टोनमेन्टबाट गलहत्याइए। सेना समायोजनका क्रममा सेना बन्नका लागि उमेर हद नपुगेपछि जनसेनाबाट सामान्य जीवनयापनमा फिरेका उनी अहिले घर निर्माण गर्ने व्यावसायमा छन्। त्यही व्यावसायबाटै रोजीरोटी धानेका उनी भन्छन्, ‘अब यस्ता कुनै पनि लडाइँ नहोउन्।’
वर्तमान सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाइदिएपछि उत्पन्न ‘द्वन्द्वको आशंका’का स्वर उनी सुनिरहन्छन्। यस्ता खबरले उनको विगतको झझल्को दिइरहन्छ। तर उनी भन्छन्, ‘द्वन्द्व सबै समस्याको समाधान होइनन रहेछ, अबको यो बाटोमा कोही नलागोस् भन्ने मेरो चाहना छ।’ तत्कालीन द्वन्द्वको जगमा स्थापित लोकतन्त्रलाई मजबुत पार्ने अभियानको सच्चा मार्ग द्वन्द्व नहुने भन्दै उनले यसका निम्ती वैचारिक लडाइँको जरुरी देख्छन्। ‘मलाई पनि त्यो बेला लडाइँ नै सबै स समाधान हो भन्ने लाग्थ्यो, तर के कति समस्या समाधान भए त्यो त सबैलाई थाहा छ,’ उनले भने, ‘तर म आफैं झनै समस्यामा गाँजिए, यसर्थ युद्ध नअंगालेर सबै जनताको हकहितका लागि वैचारिक संघर्ष मात्रै मुलुकको हितअनुकूल हुने म देख्छु।’
‘मलाई पनि त्यो बेला लडाइँ नै सबै समस्याको समाधान हो भन्ने लाग्थ्यो, तर के कति समस्या समाधान भए त्यो त सबैलाई थाहा छ । तर म आफैँ झनै समस्यामा गाँजिए, यसर्थ युद्ध नअंगालेर सबै जनताको हकहितका लागि वैचारिक संघर्ष मात्रै मुलुकको हितअनुकूल हुने म देख्छु ।’
तत्कालीन माओवादी क्यान्टोनमेन्टका सहायक कमाण्डर रोल्पा जेलवाङका क्षितिज मगर अहिले घरको आँगनमा टायल बिछ्याउने काम गर्छन्। ठेक्का लिएरै यो काममा केही वर्षदेखि लागिरहेका उनको गर्जो यही व्यावसायबाट चलिरहेको छ। लडाइँबाटै देश बदल्ने तत्कालीन ‘महान योजना’सहित द्वन्द्वमा होमिएका उनका लागि त्यो लडाइँ पश्चात्ताप बनिरहेको छ। उनी भन्छन्, ‘मेरो कारण देश कति बदलियो, त्यो थाहा छैन, तर म आफूले मिथ्यामा समय व्यतित गरेँ।’ अहिलेको व्यावसायबाटै आफ्नो गर्जो टारेका उनी यही व्यवसाय निर्धक्क गर्न पाइयोस् भन्नेमा छन् ताकि अर्को द्वन्द्वको मार खेप्नु नपरोस्। ‘तत्कालीन द्वन्द्वबाट जुन चिज मुलुकमा स्थापित भयो, त्यसलाई थप व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने, ‘तत्कालीन द्वन्द्वमा जस्तो अब पनि कुनै अर्को नयाँ लडाइँले नेपाली नागरिक र मुलुकलाई हानी नपु-याओस्।’
२०४९ देखिनै अखिल क्रन्तिकारीबाट माओवादी राजनीतिमा सक्रिय उनी माओवादीले द्वन्द्व सुरु गरेदेखि उनी सोही पार्टीको भूमिगत राजनीतिमा होमिए। ‘गाउँमा धेरै अत्याचार थियो, गरिब असहायहरु बिनाकारण कुटिनुपथ्र्यो,’ उनले भने, ‘तिहारमा भैलो खेलेकै कारण भैलो किन खेलिस् भनेर म पनि कुटिएको थिएँ।’ समाजमा हुने यही व्यवहारले उनलाई माओवादीको भूमिगत राजनीतिमा लाग्न प्रेरित गरेको उनी सुनाउँछन्।
माओवादी द्वन्द्वकालमा लागेर के मिल्यो त ? उनी भन्छन्, ‘हामीहरू भ-याङ मात्र बन्यौँ, मिल्ने जति ठूलाबडालाई मात्रै मिल्यो।’
लामो समयसम्म तत्कालीन माओवादी युद्धमा होमिएका अधिकांश पूर्वलडाकुहरूका लागि माओवादी युद्धलाई थकथकी मान्दै आएका छन्। आपूmहरूलाई पारिएको ‘अधकचल्टो’ र द्वन्द्वका कारण नेपाली नागरिक र समग्र मुलुकले खेप्नु परेको क्षतिको पीडामा बल्झिइरहेका उनीहरू अब यस्तो कुनै पनि युद्धको सुरुवात नहोओस् भन्ने अपेक्षामा छन्।
कलाकारिताबाट माओवादी द्वन्द्वमा स्थापित रोल्पाकी इन्द्र बुढा अहिले दाङमा फूल खेती गरेर बसेकी छिन्। उनको लामो द्वन्द्वको अनुभूतिले भन्छ, ‘त्यो जीवनभन्दा अहिलेको जीवन धेरै आनन्दित छ।’ मुलुकमा अर्को द्वन्द्वको सुरुवात हुने होकि भन्ने सञ्चारले उनलाई विगतले झसंग बनाउँछ। त्यो द्वन्द्वको उपलब्धिविहीनताको अवस्था महसुस गर्दै उनले भनिन्, ‘मुलुकमा अर्को कुनै युद्ध जन्मनु हुँदैन, शान्तिको बाटोमा सबै एक भएर हिँड्नुपर्छ।’ लामो द्वन्द्व सहेको नेपालका लागि अब फेरि उस्तै द्वन्द्वको मारमा पार्न नहुने तर्क उनको छ। त्यसो त, राज्यपक्षबाट समेत प्रतिबन्धको निर्णय गरेर द्वन्द्वका लागि थप उक्साउन खोजिएको हो कि भन्ने आशंका बढेको बताउँदै उनले भनिन्, ‘द्वन्द्वको अवस्था सिर्जना गरेर नेपाली नागरिकलाई थप असुरक्षित पार्ने काम कोही पक्षबाट पनि गरिनुहुन्न।’
प्रकाशित: ७ चैत्र २०७५ ०२:४० बिहीबार