१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री पदबाट हट्ने भएपछि मातृका यादव भावुक, कर्मचारीले टेर्न छोडेको गुनासो

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनपछि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गरेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला मन्त्री यादवले आफू पनि पदबाट हट्न लागेको स्पष्ट संकेत दिएका हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाको अनुगमनमा मातृकासहित आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका छन्। कमजोर देखिएका मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्शसमेत गरिसकेका छन्।

दाहालले पनि परिवर्तनका लागि ओलीसँग सहमति जनाएका छन्। दाहालले यही फागुन २८ गते विराटनगर पुगेर सरकारलाई थप गतिशील बनाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आफूसँग छलफल गरेको र आफूले सहमति जनाएको बताएका थिए।

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे। मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे। 

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे। मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे। 

‘म आज मन्त्री हुँ। सधैं त मन्त्री रहन्नँ नि। मन्त्री कर्मचारीजस्तो स्थायी जागिरे होइनन्’, उनले भने, ‘मन्त्रीहरु जाँदै छन् भनेर हल्ला हुँदा कुनै हाकिमले टेर्दैनन्। त्यसमध्ये म परेको हुँ। त्यस्तो अवस्था पनि छ।’

आफू मन्त्री पदबाट बाहिरिए पनि बाँकीको ४ वर्ष सांसदका रुपमा र आम नागरिकका रुपमा उपभोक्ताको क्षेत्रमा काम गरिरहने प्रतिबद्धता जनाउँदै यादवले थपे, ‘मलाई कति बेला के लाग्छ भने मन्त्री नभएर सांसद नै रहेको भए बढी काम गर्थें होला। मन्त्री भएपछि बोल्न पनि नपाइने। म पहिलेजस्तो मातृका छैन्।’

आफूले सोचेअनुसार काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री यादवले गलत काम पनि नगरेको दाबी गरे। ‘एउटा कुरामा विश्वास गर्नुस् गडबड गरेको छैन। कुनै ठाउँमा गडबड गरेको देखाउनुस्, म सजाय भोग्न तयार छु। काम गर्न नसकेको हो, तर गडबड गरेको छैन’, उनले भने, ‘म मर्न तयार छु, तर गडबड गर्ने मान्छे होइन। मैले यो कुरामा आफूलाई बचाएको छु, बँच्न चाहन्छु।

आफू मन्त्री भएर पनि बजारमा सरकारको उपस्थिति देखाउन नसकेकोमा पश्चाताप गर्दै यादवले अब सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। ‘बजारमा सरकार छैन, उपभोक्ताहरु मर्कामा छन्। म मन्त्री छु। यो कति पीडादायी विषय हो। त्यसमा पनि कम्युनिस्ट पार्टीको मन्त्री छ। अरू भए यस्तै छ, नातावाद कृपावादलाई प्रश्रय दियो भन्ने आरोप लगाउन हुन्थ्यो’, उनले भावुक हुँदै भने, ‘त्यसकारण हामी मिलेर जाऔं। लगानी सम्मेलनपछि म मन्त्री भए पनि नभए पनि बृहत् भेला गरौं, छलफल गरौं।’ 

मन्त्री यादवले विश्व स्मार्ट भइसकेका बेला आफूहरु अधिकारमै रुमल्लिएको भन्दै धरातल हेरेर काम गर्न र एउटै उपभोक्ता महासंघ बनाउन आग्रह गरे। बजारमा बदमासी गर्नेलाई तह लगाउन सबै मिलेर, छलफल गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ। 

 

प्रकाशित: १ चैत्र २०७५ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App