काठमाडौं - नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला(बुहारी)ले कति समयपछि नेपाली नागरिकता पाउन सक्छिन् भन्ने विषय विवादित बन्दै गएको छ। यस विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा अझै सहमति जुटेको छैन। संविधानले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ तर समय कानुन बनाएर तोक्ने भनेको छ। संविधानको धारा ६ ले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ भन्ने व्यवस्था छ।
नेपालको नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा विदेशी बुहारीलाई कति समयभित्रमा अंगीकृत नागरिकता दिने भन्ने विषयमा राज्य व्यवस्थामा विभिन्न कोणबाट छलफल भइरहेको छ। समितिका केही सदस्यले भने विदेशी बुहारीलाई कम्तीमा सात वर्षदेखि १० वर्षको समय तोक्नुपर्ने बताएका छन् भने केही सदस्यले तुरुन्तै दिनुपर्ने बताएका छन्। संविधानमा कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएका कारण विदेशी महिलालाई नेपालको बुहारी बन्नासाथ नागरिकता दिनुपर्ने व्यवस्था राख्नुपर्ने राज्य व्यवस्था समितिका सदस्य तथा संघीय समाजवादी फोरमका रामसहायप्रसाद यादवले बताए। उनले भने तुरुन्तै नागरिकता दिनका लागि स्वघोषणाको व्यवस्था राख्न सकिने उनले बताए। नागरिकता छ भने त्यागेको घोषणा गर्ने र नागरिकता छैन भने छैन भन्ने घोषणा गरेपछि विदेशी महिलालाई नागरिकता दिने व्यवस्था राख्न सकिने उनले बताए। ‘बरु दण्ड सजाय कडा गरौं नागरिकता जटिल नबनाउँ भन्ने भनाइ हो’ उनले भने।
संविधानमा कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएका कारण विदेशी महिलालाई नेपालको बुहारी बन्नासाथ नागरिकता दिनुपर्ने व्यवस्था राख्नुपर्ने राज्य व्यवस्था समितिका सदस्य तथा संघीय समाजवादी फोरमका रामसहायप्रसाद यादवले बताए।
नेकपाका सांसद झपटबहादुर रावलले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम भएको विदेशीले विवाह भएको १० वर्षपश्चात् नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताए। विवाह साँच्चिकै विवाह हो कि होइन भन्ने विषय १० वर्षसम्म स्पष्ट हुने उनले बताए। उनले भने वंशजबाहेकका नागरिकता लिएकाहरूको हकमा त्यस्ता व्यक्तिहरूको कम्तीमा पाँचदेखि सात पुस्ताले नेपालको नागरिकता लिई बसोबास गरेपश्चात मात्रै निजहरूका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने व्यवस्था राख्नुपर्ने बताए।
समितिमा छलफलका क्रममा विदेशी नागरिकसँग विवाह गरेका पुरुष वा महिलाले देशको नागरिकता सरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए सोको प्रमाण र त्यस्तो नागरिकता वा प्रमाणपत्र लिएको भए त्याग गरेको प्रमाण पेस गर्ने व्यवस्था राख्ने विषय उठेको छ। यस विषयमा मंगलबार छलफल हुनेछ। यसैगरी, गैरआवासीय नेपाली नागरिकता पाउने व्यक्तिले नेपाली वा नेपालमा बोलिने अन्य कुनै पनि मातृभाषा बोल्न जानेको हुनुपर्नेछ भन्ने विषय सहमति नजिक पुगेको छ भने गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सपथ गराउनुपर्ने व्यवस्थामा पनि सहमति जुट्न लागेको छ।
साविकका नेपालको नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र फिर्ता लिई सोको सट्टा गैरआवासीय नेपाली नागरिकता दिइने व्यवस्था राख्ने मोटामोटी सहमति बनेको छ। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताविपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्न सक्नेछ भन्ने विषयमा पनि मोटामोटी सहमति जुटेको छ।
नेपालभित्र फेला परेको र पितृत्व ठेगाना नभएको व्यक्तिको हकमा बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस कानुनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखतसहित निजको नागरिकताको प्रमाणपत्र र अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिसबमोजिम वंशजको नागरिकता दिइनुपर्ने विषयमा धेरै सांसदहरू एकमत देखिएका छन्। नेपालको नागरिकताको प्रमाणपत्र लिइसकेका कम्तीमा दुईजना व्यक्ति र सम्बन्धित स्थानीय तहका कम्तीमा एकजना पदाधिकारी वा सदस्यले सरजमिनस्थलमै गरेको सनाखत र सम्बन्धित वडा समितिले गरेको सिफारिसका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्ने व्यवस्थामा नागरिकता लिने कुनै पनि व्यक्तिले चाहेमा सम्बन्धित समुदाय जनिने थर वा कुनै उपनाम राखी तोकिएबमोजिम नागरिकताको प्रमाणपत्र दिन सकिने व्यवस्थामा पनि सहमती नजिक पुगेको छ।
प्रकाशित: २१ फाल्गुन २०७५ ०२:४९ मंगलबार