१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुर नगरपालिकाले अस्पताल साञ्चालन गर्ने

भक्तपुर - नेपालमा पहिलो पटक भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्न लागेको छ। ख्वप अस्पताल नामकरण गरिएको अस्पतालको भवन शिलान्यास बिहीबार एक कार्यक्रमबीच हुँदैैछ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २५ शड्ढयाको अस्पताल निर्माणको लागि अनुमति प्राप्त गरिसकेको जानकारी गराए। अस्पताल भवनको नक्सा पास गरी शिलान्यास गर्न लागेको प्रमुख प्रजापतिले जनाए। अस्पताल भवन निर्माणका लागि जग्गा सम्याउने काम एक महिना अघिदेखि थालिएको थियो। शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गर्ने पार्टीको घोषणापत्र अनुसार अस्पताल सञ्चालन गर्न लागेको नगरप्रमुख प्रजापतिले जनाए। ‘२०५४ सालको स्थानीय निकायको निर्वाचनपछि इन्जिनियरिङलगायत सात वटा कलेज सञ्चालन गर्न हामी सफल भएका थियौं,’ प्रमुख प्रजापतिले नागरिकसँग भने, ‘२०७४ सालको यो पछिल्लो स्थानीय निकायको निर्वाचनपछि हामीले अस्पताल सञ्चालन गर्न लागेको हौं।’

भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित नगरपालिको सञ्चालन गरिराखेको च्याम्हासिंह जनस्वास्थ्य केन्द्र नजिकै अस्पताल भवन बनाउन लागिएको हो। नगरपालिकाले हाल तीन वटा जनस्वास्थ्य केन्द्र सञ्चालन गरिराखेको छ। नगरपालिकाले च्याम्हासिंह, भगवतीस्थान र व्यासीमा गरी तीन वटा छुट्टाछुट्टै स्थानमा जनस्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ। यीमध्ये च्याम्हासिंहको जनस्वास्थ्यमा इमरजेन्सी सेवासमेत छ।

नगरपालिकाबाट सञ्चालित ती जनस्वास्थ्य केन्द्रमा दैनिक तीन सयभन्दा बढी बिरामीहरुले स्वास्थ्य सेवा पाइरहेको तथ्यांक छ। तीन वटा जनस्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टरहरु नौ जना र अन्य १३ जना चिकित्सकसमेत गरी २२ जना डाक्टरले सेवा दिइरहेका नगरपालिकाले जनाएको छ। साथै नर्स र अन्य कर्मचारीहरु गरी स्वास्थ्यतर्फ ६१ कर्मचारी कार्यरत छन्। साथसाथै नगरभरि ९० जना स्वास्थ्य स्वयमसेविकाहरु र १९ जना बिमा स्वास्थ्य बिमा अभिकर्ताहरु परिचालित छन्।भक्तपुर नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष एवं अस्पताल निर्माण समितिका सदस्य रविन्द्र ज्याख्वले देशभरका महानगरपालिका, उपमहानगरपालिका अनि नगरपालिकाहरुमध्ये भक्तपुरले पहिलो पटक अस्पताल बनाउन लागेको दाबी गरे। पहिलो चरणमा २५ बेडको अस्पताल बनाउने उनले बताए। अस्पताल सात रोपनी क्षेत्रफलमा रहने छ। अस्पताल भवन निर्माणको लागि चालू आर्थिक वर्षमा नगरपालिकाले करिब १४ करोड बजेट छुट्याएको उनले जनाए। अस्पताल सबै भवन तयारी हुन करिब ६० करोड लाग्ने अनुमान छ। भक्तपुरका स्थानीयले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन् भन्ने उद्देश्यले अस्पताल बनाउन लागिएको उनले बताए। अस्पताल निर्माण कार्य तीन वर्षमा पूरा हुने लक्ष्य राखिएको छ। देशभरका ६ वटा महानगरपालिका र दुई सय ९३ वटा नगरपालिकाहरुमध्ये पहिलो पटक अस्पताल सञ्चालन गर्न लागेको हो।

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App