११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। वितेको एक वर्षमा सरकार र कांग्रेसले अवसरको सदुपयोग गर्न नसकेको उनको भनाई छ। 

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाए। दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने उनले विश्वास गरे। राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गरे। उनले भने, ‘ओली सरकारलाई मान्नैपर्छ। ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ। ओलीजीको लागि यो मौका हो।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए। उनले भने, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हेर्यौं भने मौका खेर फालेको पाइन्छ। सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य छ।’

व्यापार घाटापनि डरलाग्दो अवस्थामा पुगेको बताउँदै उनले भने, ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन्। हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन्। काम केही भएकै छैन्।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ। 

उनले अघि थपे, ‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिइयो? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन?’ उनले वाइडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए। 

कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाको भनाई छ। उनले भने, ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ। हामी एकतीर ढल्केका छौं।’ उनले भेनेजुएला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे। 

सरकारले कुटनीतिक रुपमा कुनै पनि सीप तथा क्षमता देखाउन नसकेको उनले आरोप लगाए। यद्यपी उनले राजनीतिक रुपमा भने प्रधानमन्त्री सफल भएको दाबी गरे। उनले भने, ‘किनभने उहाँले दुई तिहाई बहुमत ल्याउनुभयो।’

प्रकाशित: २९ माघ २०७५ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App