२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

चार विधेयक विधायन समितिमा

फाइल तस्बिर

काठमाडौं – संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाले चारवटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विभिन्न चारवटा विधेयकलाई दफाबार छलफलका लागि विधायन समितिमा पठाउन गरिएको प्रस्ताव अनुमोदन भएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राखेको ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव बैठकले अनुमोदन गरेको हो। यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तिभरण कोष विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गरेका थिए। सो विधेयक पनि विधायन समितिमा पुगेको छ।

अर्थमन्त्री खतिवडाले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि गरेका थिए भने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बैठकबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट पारित भएको जानकारी गराए।

प्रकाशित: २६ माघ २०७५ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App