२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारी धारणाबाट अमेरिका आश्वस्त हुन सकेन

काठमाडौं – भेनेजुयलामा उत्पन्न संकटबारे सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन सकेको छैन। भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षमध्येका एक पुष्पकमल दाहालले कडा टिप्पणी गेरेका थिए। त्यसको केही दिनपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको कूटनीतिक स्रोत बताउँछ। सत्तारुढ दल नेकपाको विज्ञप्तिबाट चिढिएको अमेरिका सरकारको लचिलो धारणा आएपछि आश्वस्त हुने अनुमान गरिएको थियो।

‘भेनेजुयलाको संकट त्यहाँको आन्तरिक मात्र होइन अन्तर्राष्ट्रिय पनि हो’, कूटनीतिक स्रोत भन्छ। भेनेजुयलाको आर्थिक सामाजिक र संगठनात्मक अवस्था भताभुंग हुँदा त्यसले क्षेत्रीय मानवीय संकट उत्पन्न गराइरहेको अन्तर्राष्ट्रिय समुदायको भनाइ छ। त्यहाँ उत्पन्न संकटबारे क्षेत्रीय शक्ति अमेरिकालगायत मुलुकले बोले पनि नेकपाले अनावश्यक टिप्पणी गरेको स्रोत बताउँछ।

भेनेजुयलामा निर्वाचित राष्ट्रपतिलाई मान्यता नदिएर त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेकपाले अमेरिकालगायत पश्चिमा मुलुकको निन्दा गरेको थियो। नेकपा अध्यक्ष दाहालले अघिल्लो शुक्रबार विज्ञप्ति जारी गरी अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याउन खोजेको र स्वघोषित राष्ट्रपतिलाई मान्यता दिएर निर्वाचित राष्ट्रपतिविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका थिए।

दाहालको विज्ञप्तिप्रति नेपालस्थिति अमेरिकी दूतावासले गम्भीर चासो देखाएको थियो। अमेरिकाले चासो देखाएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुयला प्रकरणलाई नेपालले नजिकबाट हेरिरहेको र कुनै मुलुकको आन्तरिक विषयमा बाह्य हस्तक्षेप हुन नहुने बताएको थियो। सरकारले तटस्थ किसिमको धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको स्रोत बताउँछ। भेनेजुयलाको अवस्था संकटग्रस्त बन्दै गएकाले त्यहाँका मानिसले बाँच्नका लागि संघर्ष गरिरहेको र जतिसक्दो छिटो मुलुक छोड्न चाहेको, त्यहाँको सरकार जनताप्रति उत्तरदायी नरहहेको विभिन्न रिपोर्टले देखाएका छन्।

राष्ट्रपतिमा निर्वाचित निकोलास मदुरोलाई चुनौती दिँदै ३५ वर्षीय जुवान गुवाइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि उनलाई अमेरिकासहितका मुलुकले मान्यता दिएका छन्। भेनेजुयलाको संविधानको धारा ३३३ र ३५० अनुसार गुवाइदोले राष्ट्रियसभाबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुन्। रुस र चीनले भने निर्वाचित राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेका छन्। भेनेजुयलामा बढ्दै गएको संकटलाई लिएर विश्व शक्ति दुईतर्फ विभाजित भएका छन्।

प्रकाशित: १८ माघ २०७५ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App