२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

अवरुद्ध भएकै ठाउँबाट संसद् अघि बढ्नुुपर्छ : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठक प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरबाट सुरु हुनुपर्ने निष्कर्ष निकालेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले संसद् स्थगित गरिएको ठाउँबाटै बैठक अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।

संसद नियमावली र अभ्यासविपरीत सभामुख कृष्णबहादुर महराले आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिएको कांग्रेस ठहर छ। ‘संसद् नियमावलीविपरीत सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोक्नुभएको छ,’ कांग्रेसका राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘प्रक्रिया जहाँबाट अवरुद्ध भएको छ त्यहीँबाट पुनः सञ्चालन गरिनुपर्छ।’

प्रधानमन्त्रीसँग प्रश्नउत्तर गर्न नदिएको विषयमा कांग्रेसले सभामुख महरासँग प्रश्न गर्ने तयारी गरेको छ। बुधबारको संसद् बैठक कसरी अघि बढाउने विषयमा छलफल गर्न सभामुख महराले बुधबार १२ बजे बैठक बोलाएको जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘सभामुखसमक्ष प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे प्रश्न गर्नेछौं।’

संसदीय अभ्यासप्रति कांग्रेस पूर्णप्रतिवद्ध रहेको सुनाउँदै खाँणले सभामुख कुनै दल विशेषको नभएर साझा व्यक्तिकारूपमा प्रस्तुत हुनुपर्ने बताए। पदीय गरिमा जोगाउन सभामुखलाई आग्रह गर्दै नियमावली २१९ को २ को व्यवस्थाअनुसार सभामुख प्रस्तुत हुनेमा विश्वस्त रहेको कांग्रेस नेताहरूले जनाएका छन्। ‘कार्यव्यवस्थाको बैठकमा सभामुख कसरी प्रस्तुत हुन्छन् त्यसैअनुसार कांग्रेसले बैठकको रणनीति तय गर्नेछ,’ कांग्रेस एक नेताले भने, ‘हाम्रो माग सम्बोधन नभए बैठक चल्दैन।’

संसद् बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले आइतबारको संसद् बैठकमा सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनु पर्ने माग गरेका थिए। तर, सभामुखले सीमित व्यक्तिलाई मात्र प्रश्न गर्न दिने बताए पनि कांग्रेसको अस्वीकारपछि विपक्षीको अवरोधबीच सदनको कारबाही अघि बढाएका थिए।

त्यस्तै, कांग्रेसले सरकार र समितिको काम प्रभावकारी बनाउनका लागि पार्टीले छुट्टै विषयगत समिति(छायाँ सरकार) गठन गर्ने भएको छ। त्यसका लागि कांग्रेसले आफ्ना सांसदसँग बस्न चाहेको समितिको नाम उपलब्ध गराउन आग्रह गरेको छ। एउटा समिति (मन्त्रालय)मा कम्तीमा चारजना सांसद रहनेगरी कांग्रेसले समिति बनाउन लागेको छ।

प्रकाशित: २५ पुस २०७५ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App