१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आध्यात्म र भौतिकवादबीच फ्युजन गरेर विकास : मुख्यमन्त्री पौडेल

चितवन- आझेलमा परेका पर्यटकीय क्षेत्रलाई उजागर गरेर पर्यटनको विकास गर्नुपर्ने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन्। पर्यटनले विकास धेरैतिर बाँडिने भएकाले पर्यटक आउँदा यससँगै जोडिएका धेरै क्षेत्र लाभान्वित हुने उनले बताए।

गणेशस्थानलाई गणेशधाम बनाउन गरिएको धन धान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पर्यटन विकासले समग्र क्षेत्रको विकास हुने बताए। 

चितवन पर्यटकीय जिल्ला  भएपनि पर्यटन भन्दा सौराहा र हात्ती, गैंडा भनेर मात्र चिनिने गरिएको बताउँदै उनले ओझेलमा परेका ठाउँलाई अगाडि ल्याउनुपर्ने बताए। ‘धेरै भन्दा धेरै पर्यटक ल्याउन त्यहाँको धार्मिक महत्वलाई उजागर, व्यापारिकरण र अन्तराष्ट्रियकरण गर्नुपर्छ’ उनले भने, ‘गणेशधामा देवघाट लगायतका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रमा जोड्नु आवश्यक छ।’ 

गणेशधाम निर्माणका लागि प्रदेश सरकारले यस वर्ष ९० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिए। आध्यात्मवाद र भौतिकवादको बीचमा फ्युजन भएपछि मात्रै विकासमा अगाडि बढ्न सकिने उनी बताउँछन्। धर्म मान्न व्यक्ति स्वतन्त्र रहेको समेत उनले बताए। ‘धर्म निरपेक्ष भनेको सनातन धर्मलाई मास्ने होइन, धर्मप्रति हामी ईमानदार हुनुपर्छ’ उनी भन्छन्, ‘धर्म कसैले बचाईदिने होईन, हाम्रो धर्म, संस्कृतिलाई बचाउने काम हाम्रो हो।’ बहुजाती, बहु भाषा, बहु धर्म भएको देशमा सबैको सम्मान गर्नुपर्ने उनी बताउँछन्। 

मंसिर २९ गतेसम्म चल्ने ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव मा युवा वाचक प. दीनबन्धु पोखरेलले प्रवचन दिनेछन्। गणेशस्थानलाई गणेश धाम बनाउन तयार गरिएको डिपिआर अनुसार ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका संयोजक दिनेशकुमार चुकेले जानकारी दिए। महोत्सवबाट २० करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य राखिएको छ। 

 

प्रकाशित: २२ मंसिर २०७५ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App