७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘विकास र समृद्धिका लागि पत्रकारको सहयोग आवश्यक’

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि पत्रकारहरुको साथ र सहयोगको खाँचो औल्याएका छन्। उनले समाज रुपान्तरणका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रदेशको विकास र समृद्धिका लागि पनि कलम चलाउन आग्रह गरे। ‘समाज रुपान्तरण गर्दै विकास र समृद्धिको मार्गमा डोर्याउने दायित्व पत्रकारको पनि हो’ बिहीबार नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारलाई यहाँको विकास र समृद्धिका लागि पनि तपाईहरुको साथ चाहिएको छ।’

मुख्यमन्त्री शाहीले सुशासन कायम गर्न, सकारात्मक सोचको विकास गर्न र आर्थिक तथा सामाजिक क्षेत्रमा पछाडी रहेको प्रदेशलाई समृद्धिको मार्गमा डोर्याउन पत्रकारले कलम चलाउनुपर्ने बताए। ‘सरकारले गरेका नराम्रा कामहरुको खवरदारीका साथै राम्रा कामहरु आम जनतासम्म पुर्याउने दायित्व पनि तपाईहरुको हो’ मुख्यमन्त्री शाहीले भने, ‘यो अभियानमा तपाईहरुको कमल चल्ने छ भन्नेमा प्रदेश सरकार विश्वस्त छ।’

उनले पछिल्लो पुस्तालाई अहिलेदेखिनै सही मार्गमा डोर्याउने उद्देश्यले १५ वर्षमुनिका बालबालिकाहरुका लागि छुट्टै शिक्षा र संस्कार दिने तयारी सरकारले गरिरहेको बताए। ‘१५ वर्षमुनिका बालबालिकाको मस्तिष्क ‘भर्जिन’ छ, उनीहरुलाई अहिलेदेखि नै राम्रो शिक्षा र संस्कार दिन सकियो भने समाजलाई सहीमार्गमा डोर्याउन सकिन्छ’ मुख्यमन्त्री शाहीले भने, ‘हामी उनीहरुका लागि छुट्टै पाठ्यक्रम विकास गरेर लागू गर्ने तयारीमा छौं।’

मुख्यमन्त्री शाहीले पत्रकारका विद्यमान समस्या समाधानका लागि पनि प्रदेश सरकार तयार रहेको बताए। ‘पत्रकारिताको स्थायित्व र विकासका लागि नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्न तयार छ’ उनले भने, ‘महासंघले दिएका बुँदागत सुझावहरुलाई हामी कार्यान्वयन गछौं।’

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा, पूर्व जिल्ला अध्यक्षहरुलगायतले बोलेका थिए ।

नागरिकर्मीलाई वर्ष पत्रकारिता पुरस्कार

पत्रकारिताका मध्यमबाट समाज रुपान्तरणमा उल्लेख्य योगदान पुर्याएवापत नागरिककर्मी नगेन्द्र उपाध्याय वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। १२ वर्षदेखि क्रियाशिल पत्रकार उपाध्यायलाई नेपाल पत्रकार महासंघले स्थापना गरेको वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो। महासंघका सचिव सुदिप पुरीका अनुसार २०६८ सालमा स्थापना भएको यो पुरस्कारबाट यसअघि चार जना पत्रकार पुरस्कृत भएका छन्। वर्षभरी उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई महासंघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर पुरस्कृत गर्ने गरेको छ।

यस्तै महासंघले खानेपानी तथा सरसफाई पुरस्कारबाट कर्मसञ्चार डटकमका ईश्वर अधिकारी, शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट खबरइरा डटकमका विमला खड्का र प्रदेश एफएमका धर्मराज जिसीलाई प्रदान गरेको छ।

 

प्रकाशित: २० मंसिर २०७५ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App