२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पाहुनाको सुरक्षा रक्षामन्त्रीकै निगरानीमा

काठमाडौं - सरकारले एसिया प्यासिफिक समिटमा भाग लिन आउने विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाउन रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृहमन्त्री रामबहादुर थापालाई जिम्मेवारी दिएको छ। शुक्रबार सुरु हुने समिटमा सहभागी हुने राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिको सुरक्षा प्रबन्ध चुस्त बनाउन सरकारको तर्फबाट रक्षा र गृहलाई जिम्मेवारी दिइएको हो। बहालवाला राष्ट्रपति र सरकार प्रमुख नै सहभागी हुने भएपछि नेपाली सेनासमेत परिचालन गर्नुपर्ने अवस्थामा रक्षा र गृह दुवैको जिम्मेवारी परेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

अति विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि सरकारले विगतमा जस्तै सेनालाई जिम्मेवारी दिएको छ भने अन्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी लिएका छन्। एकैपटक यति ठूलो संख्यामा विदेशी पाहुना आउने कार्यक्रम भएकाले सरकारलाई सुरक्षा व्यवस्था मिलाउन निकै कठिन भएको छ। चारवटै सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन दुई हप्तादेखि तयारी गरेका थिए।

विशिष्ट पाहुनाहरूको सवारीका लागि सवारीसाधन हुने भएपछि मन्त्रालयमा सचिवहरूले प्रयोग गर्ने गाडीहरू गृह मन्त्रालयमा तानिएका छन्। नेपाल प्रहरीले पनि आसपासका जिल्ला र प्रदेशमा पठाएका गाडी काठमाडौं झिकाएको छ। सशस्त्र प्रहरीले पनि सबै गाडी चुस्तदुरुस्त राखेको छ। गृहका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीका अनुसार आवश्यक सुरक्षा प्रबन्धका लागि मन्त्रालय तयारी गरिसकेको छ। ‘सुरक्षा निकायका सबै अंग खटिएका छन्, सुरक्षा व्यवस्था कडा पारिएको छ, कार्यक्रमस्थल पाहुना निवास सबै स्थानमा सुरक्षाकर्मी खटिनेछन्,’ प्रवक्ता सुवेदीले भने।

गृह मन्त्रालयले आफूसँग भएका गाडीका अतिरिक्त समिटमा आउने पाहुनाका लागि थप ४८ वटा गाडी अन्य मन्त्रालयबाट झिकाएको छ। ‘गृह मन्त्रालयसँग भएका गाडी अपुग भएपछि अन्य मन्त्रालयसँग समन्वय गरेर गाडी ल्याइएको पनि सहसचिव सुवेदीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति र सरकार प्रमुखका लागि अन्य साना कारसमेत झिकाइएको छ। परराष्ट्र मन्त्रालयबाट सात, भूमि व्यवस्थाबाट पाँच र अर्थ मन्त्रालयबाट चारवटा गाडी गृह लिएको हो। त्यस्तै, प्रहरीले पनि काठमाडौंबाहिरबाट अगुवापछुवाका लागि तीन दर्जन गाडी काठमाडाैं ल्याएको छ।

एसिया प्यासिफिक समिटमा तीन मुलुकका राष्ट्रपतिसहित ५ सय ६७ विदेशी पाहुना आउँदै छन्। फिलिपिन्सकी उपराष्ट्रपति, म्यानमारकी विदेशमन्त्री पनि नेपाल आउँदै छिन्। कम्बोडियाबाट प्रधानमन्त्री नेपाल आउनेछन्। त्यस्तै, रिपब्लिक अफ नाउरु, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवाका राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन्। विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसमेत सम्मेलनमा सहभागी हुँदै छन्। म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी पनि आउँदै छिन्।

प्रकाशित: १३ मंसिर २०७५ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App