२६ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्मलाको हत्यारालाई सरकारले लुकायो : सभापति देउवा

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार हत्यारा र बलात्कारीको संरक्षणमा लागेका कारण देशमा दण्डहिनता मौलाउ“दै गएको बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित प्रदेश स्तरिय नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा बोल्दै देउवाले सरकारले नै निर्मला पन्तको हत्यारालाई लुकाएको दाबी पनि गरे। देउवाले भने ‘सरकारले नै निर्मलाको हत्यारालाई लुकाएको छ।’

सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने उनको भनाई छ। ‘हत्यारालाई कारवाही नै गर्न नचाहेका कारण जति दबाव दिएपनि सरकारलाई तातो लागेको छैन।’ उनले कम्युनिष्ट अधिनायकवाद विरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। देशमा कम्युनिष्ट शासकहरू अधिनायकवादतर्फ अघि बढीसकेको उनको दाबी छ। ‘कम्युनिष्ट शासकहरू अधिनायकवादतर्फ अघि बढीसकेका छन्’ देउवाले भने ‘हामीले फेरी एक पटक प्रजातन्त्र प्राप्तिका लागि अन्तिम लडाइँमा उत्रनुपर्ने हुनसक्छ।’

देउवाले कम्युनिष्ट अधिनायकवादले गराउने चुनावको पनि अर्थ नहुने स्पष्ट पारे। उनले भने ‘सबै थोक कब्जामा लिएर गराइने चुनाव निष्पक्ष  हुने कुरै भएन।’ प्रजातन्त्रको रक्षाका लागि सधै लड्दै आएको कांग्रेसले फेरी एक पटक प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्नुपर्ने भएकाले पार्टीलाई एकढीका बनाएर अघि बढ्नुको विकल्प नभएको देउवाको भनाई छ।

न्यायपालिका,सुरक्षा निकाय,सञ्चारक्षेत्रलगायतलाई सरकारले हस्तक्षप गर्दै गएकाले सरकारको गतिविधिविरुद्ध उत्रनुपर्ने अवस्था आइसकेको उनले बताए। नाकाबन्दीका बेला भारतीय दलालको सरकार भन्नेहरूनै अहिले सरकारमा पुगेपछि विदेशीको दलाल बनेको देउवाले आरोप लगाए। उनले भने ‘नाकाबन्दीका बेला भारतीय दलालको देश भन्नेहरू अहिले सरकारमा पुगेर के गरिरहेका छन् त्यो छर्लङ्गै छ।’

विगतको चुनावमा अन्तर्घातकै कारण पार्टी पराजित भएकाले अन्तर्घातीहरूलाई पार्टीले कारवाही गर्ने पनि देउवाले स्पष्ट पारे। उनले भने ‘अन्तर्घातले पार्टी अघि बढ्न सक्दैन त्यसैले अन्तर्घातीहरूलाई कारवाही हुन्छ।’ सुझाव संकलन कार्यक्रममा प्रदेश १ का जिल्ला सभापतिहरू, महासमिति सदस्यहरूलगायतको सहभागिता रहेको छ।

प्रकाशित: ४ मंसिर २०७५ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App