५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारबाट ६ दिनपछि समर्थन फिर्ता लिन्छौंः राजपा महामन्त्री

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले अबको ६ दिनभित्र पार्टीले सरकारबाट समर्थन फिर्ता बताएका छन्। 

शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्टडाउन सुरु भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौं। अब समर्थन फिर्ता लिएर अघि बढ्छौं।’

नेता झाले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराउँदै भने, ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं। तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो। हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन्।’ 

सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेशका जनता आक्रोशित रहेको बेला आफूहरुले जोखिम मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए। ‘हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं। तर, अहिलेसम्म संविधान संशोधन भएन्’, उनले भने।

सरकार गठन भएको ९ महिना बितिसक्दा पनि प्रम ओलीले संविधान संशोधनको लागि आजसम्म इमान्दार प्रयत्न नगरेको भन्दै उनले भने, ‘सरकारले साँच्चिकै ईमानदार भएर प्रयत्न गर्ने हो भने हप्ता दश दिनभित्र संशोधन हुन्छ। तर, सरकारले हामीलाई बारम्बार धोका दियो । अब त हाम्रोपनि धैर्यताको बाँध टुट्यो।’

मधेशी जनताले आफूहरुलाई संविधान संशोधन नहुने भए आन्दोलनका लागि मधेश झर्न थ्रेट दिइसकेको उनको दाबी छ। ‘हामी अहिले बाध्यकारी अवस्थामा छौं, अब हामी यो ६ दिन पर्खिन्छौं। त्यसपछि पनि केही नभए समर्थन फिर्ता लिएर आन्दोलनको लागि मधेश झर्छौं।’ 

अब हुने आन्दोलनमा आफूहरुलाई अब २ नम्बर प्रदेशको पनि साथ र समर्थन रहने उनले स्पष्ट पारे। झाले भने, ‘अब हुने हाम्रो आन्दोलनमा एउटा प्रदेश सरकार साथमा हुनेछ। यसले केन्द्रीय सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पार्छ।’

प्रकाशित: १ मंसिर २०७५ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App