२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट

काठमाडौं – नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दी गर्ने तयारीमा जुटेका छन् । बहुमतको बलमा सभापति देउवा स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका प्रस्तावमा फरक मत लैजाने तयारीमा जुटेको हो।

महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका अन्य प्रस्ताव सर्वसम्मतबाट केन्द्रीय समितिबाट पारित हुन नदिने रणनीति असन्तुष्ट पक्षको छ । पार्टी पदाधिकारी मनोनयन, नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद, विजयकुमार गच्छदारलाई उपसभापति बनाउनेसहितका प्रस्ताव सभापति देउवाले बहुमतबाट पारित गरेको ठहर असन्तुष्ट पक्षको छ।

सभापति देउवाले बहुमतका आडमा विधि र विधानविपरीत आफूअनुकूलका प्रस्ताव पारित गर्न सक्रिय रहेकाले फरक मत दर्ज गर्न लागिएको असन्तुष्ट पक्षका एक नेताले बताए । पार्टी पदाधिकारीको संख्या थप्ने र मनोनयन विषयमा सभापति देउवा र असन्तुष्ट पक्षबीच मतभेद देखिएका बेला सोही विषयलाई महासमिति बैठकमा फरक मतसहित पेस गर्न लागिएको ती नेताले बताए।

‘केन्द्रीय समितिले पेस गर्ने प्रस्तावमा फरक मतसहित महासमितिमा गयो भने मतदानबाट त्यसको टुंगो लगाउनुपर्छ,’ असन्तुष्ट पक्षका ती नेताले भने, ‘त्यस्तो अवस्थामा सभापतिको प्रस्ताव महासमितिले पारित गर्न सक्दैन ।’ फरक मतसहित महासमितिमा पेस भएको प्रस्ताव मतदानबाट टुंगो लगाउनुपर्ने र प्रस्ताव पारित गराउन दुई तिहाइ समर्थन आवश्यक रहने बताउँदै ती नेताले नागरिकसँग भने, ‘सभापतिलाई अब चेक भन्ने ठाउँ महासमिति मात्र हो।’

असन्तुष्ट पक्षले केन्द्रीय समितिको प्रस्ताव महासमितिबाट अस्वीकृत हुनुलाई सभापतिको असफलतासँग जोडेर हेरेको छ । केन्द्रीय सदस्य अर्जुननसिंह केसीले सभापतिले पार्टीको विधान र विधिभित्र रहेर गतिविधि अघि बढाउनुपर्ने बताए । ‘व्यक्तिलाई अप्ठ्यारो पार्ने भन्दा यथार्थता र विधानसम्मत रूपमा पार्टीलाई अघि बढाउनुपर्छ भन्ने हो,’ नेता केसीले भने, ‘पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्छ । सभापति अपारदर्शी र विधिविहीन ढंगबाट अघि बढ्नुभयो । त्यो प्रक्रिया रोकिनुपर्छ।’

‘व्यक्तिलाई अप्ठ्यारो पार्ने भन्दा यथार्थता र विधानसम्मत रूपमा पार्टीलाई अघि बढाउनुपर्छ भन्ने हो । पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्छ । सभापति देउवा अपारदर्शी र विधिविहीन ढंगबाट अघि बढ्नुभयो । त्यो प्रक्रिया रोकिनुपर्छ।’

                                                                                अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस

महासमितिबाट सभापतिलाई कमजोर साबित गरेर आगामी महाधिवेशनबाट पार्टी नेतृत्व आफ्नो पक्षमा पार्न असन्तुष्ट पक्ष सक्रिय छ । देउवाविरुद्ध एक ठाउँमा उभिए पनि गुटगत र व्यक्तिगत स्वार्थका कारण असन्तुष्ट पक्ष एकअर्काप्रति सशंकित रहेका बेला नेत्री सुजाता कोइरालाले उनीहरूलाई एकै ठाउँमा ल्याउन प्रयास थालेकी छन्।

पार्टी राजनीतिमा खासै सक्रिय नरहेकी सुजाताले सोमबार आफ्नै निवास मण्डिखाटारमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी र शेखर कोइरालालाई दिवाभोज दिएर सभापति देउवासँग असन्तुष्ट नेताहरूलाई एकजुट बनाउन थालेकी हुन्।

उक्त अवसरमा पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सार्वजनिक कार्यक्रम र भेलामा सभापतिको विरोध गरेपनि पार्टी बैठकमा कोही नबोलेको गुनासो गरेका थिए । सभापतिको कार्यशैली र कमजोरीमा प्रहार गर्नुको साटो व्यक्तिगत स्वार्थ पूरा गर्न सक्रिय हुँदा विधानविपरीत गएर पेल्न थालेको गुनासो उनले गरेका थिए । गच्छदारलाई प्रक्रिया नै पूरा नगरी उपसभापति बनाएको गुनासो सहभागी नेताहरूको थियो।

नेत्री कोइरालाले सभापति देउवाविरुद्ध एक जुट भएर लाग्न आग्रह गर्दै संस्थापन पक्षले पार्टीलाई कमजोर र खोक्रो बनाइसकेको दाबी गरेकी थिइन् । सुजाताले आपसी मतभेद त्यागेर पार्टी सुदृढीकरणका लागि एक ढिक्का हुन आग्रह गरेको बताइएको छ।

दिवाभोजमा सहभागी नेता अर्जुननरसिंह केसीले पार्टीभित्र विद्यमान सबै विषयमा छलफल, समीक्षा र विश्लेषण भएको जानकारी दिए । केपी ओली नेतृत्वको सरकार थप निरंकुश बन्दै गइरहेका बेला पार्टीभित्रको बृहत् एकता कायम गरेर अघि बढ्नुपर्नेमा सबै एकमत रहेको उनले बताए । नेता केसीले भने, ‘पार्टी विधानमा थप छलफल गरेर पूर्ण लोकतान्त्रिक बनाउनुपर्छ । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाएर जाने सहमति भएको छ ।’ त्यसका लागि आगामी बैठक र छलफलबाट कार्यक्रम तय गर्दै जाने समझदारी भएको पनि उनले जानकारी दिए।

प्रकाशित: २७ कार्तिक २०७५ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App