१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्लाही घटना : सरकार अन्धो र बहिरो भएको कांग्रेस आरोप, आन्दोलन घोषणा

घटनापछि सुनसान देखिएको सर्लाहीको रामनगर बोहर्वा गाउँ ।

सर्लाही– जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमागत सोमबार र मंगलबार भएको आक्रमणमा परी आप्mना कार्यकर्ताको मृत्यु एवं घाइते घटनाप्रति सरकार अन्धो र बहिरो भएको नेपाली कांग्रेस सर्लाहीले आरोप लगाएको छ। 

घटना भएको ५ दिनवितिसक्दा समेत आक्रमणमा संलग्न दोषीलाई पक्राउ गर्ने लगायत पार्टीले राखेको मागहरु प्रति सरकारले वेवास्ता गरेको भन्दै कांग्रेसले पूर्व–पश्चिम राजमार्ग चक्काजाम सहितआन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ। शुक्रबार सदरमुकाम मलंगवामा नेपालीकांग्रेस सर्लाही कार्यसम्पादन समितिको आकस्मिक बैठकले कात्तिक १७ गते शनिबार साँझ जिल्लास्थित २० वटै स्थानीय तहका बजारहरुमा मशाल जुलुस प्रदर्शन गर्ने, १८ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सदरमुकाम मलंगवासहित जिल्लास्थित सम्पूर्ण बजार बन्द गर्ने एवं आइतबार नै बिहान ११ बजेदेखि १ घण्टा पूर्व–पश्चिम राजमार्ग चक्काजाम गर्ने लगायत कार्यक्रम घोषणा गरेको छ। माग सुनुवाई नभए आइतबार नै बैठक बसी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने कांग्रेस सभापति नागेन्द्रकुमार रायले जानकारी दिए। 

‘हाम्रो पार्टीबाट जित्नु भएका वडाअध्यक्षलाई मरणासन्न हुनेगरी कुटपीट भएको ५ दिन वितिसकेको छ भने त्यसको भोलिपल्टै बोहर्वा गाउँमा आक्रमण गरी वडाअध्यक्षका काकाको गोली हानी हत्या गरिएको छ, अनि थप ७ जना कार्यकर्ता बन्दुकको छर्रा लागेर घाइते भएका छन्’, जिल्ला सभापति रायले भने, ‘यत्रो ठूलो घटना हुँदा समेत सरकार अन्धो र बहिरो बनेर बसिरहेकोले आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएका छौं।’ पार्टीले उठाएका मागहरु पूरा नभए क्रमशः २ नं. प्रदेश हुँदै मुलुक नै ठप्प पारिने उनले चेतावनी दिए। 

गत सोमबार घरबाट कार्यालय जाँदै गर्दा बाटोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको समूहले मरणासन्न हुनेगरी कुटपीटबाट रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतो गम्भीर घाइते भएको कांग्रेसले दाबी गर्दै आएको छ। त्यसको भोलिपल्ट मंगलबार नेकपाकै कार्यकर्ताहरुको समूहले गाउँमै आक्रमण गरी वडाअध्यक्ष रामनरेशका काका रामविलास महतोको गोली हानी हत्या गरेको एवं बन्दुकको छर्रा लागेर ७जना घाइते भएको कांग्रेसले दावी गर्दै आएको छ। 

वडाध्यक्ष रामनरेश महतो एवं मंगलबाका ७ जना घाइतेहरु हाल सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार गराइरहेका छन्। घाइतेलाई गत बुधबार कांग्रेस उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य आनन्द ढुंगाना, २ नं. प्रदेश भित्रका ८ वटै जिल्लाका सभापतिहरु सहित केन्द्रीय टोलीले जिल्ला अस्पतालमै भेट गरेको थियो। 

कांग्रेसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र अवैध हतियार नियन्त्रण गर्नुपर्ने लगायत मागसहित गत बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापत्र पत्र पठाएको थियो। 

नेकपा सर्लाही कार्यदल संयोजन समिति सदस्य रेवती पन्तले गत बिहीवार एक विज्ञप्ति प्रकाशित गरी आक्रमणमा नेकपाका कुनै नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेका थिए। कांग्रेस नेता एवं उक्त गाउँ पर्ने क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद डा. अमरेशकुमार सिंहले घटना नेकपाका नेता शिवपुजन रायको योजनामा भएको आरोप लगाउँदै आएका छन्। यता शिवपुजनले भने आफूलाई घटनाबारे कुनै कुरा थाहा नभएको र फसाउने मनसायका साथ निराधार आरोप लगाइएको बताएका छन्।

मागहरु पूरा नभएसम्म मृतकको शव अस्पतालबाट नउठाइने कांग्रेसले जनाएको छ। ४ दिनदेखि मृतकको शव जिल्ला अस्पताल मलंगवाको शवगृहमै रहेको छ। घटनालाई सामसुम बनाउने उद्देश्यले नेकपाले आफ्ना कार्यकता संलग्न नरहेको दाबीसहित कपोलकल्पित विज्ञप्ति समेत प्रकाशित गरेको भन्दै कांग्रेसले आपत्ति समेत प्रकट गरेको छ। 

जिल्ला स्थित स्थानीय प्रहरी प्रशासनले वडाध्यक्षमाथि आक्रमण भएको ५ दिन र गोली प्रहार गरी मृत्यु भएको ४ दिनवित्दा समेत घटनामा दोषी को थिए र कसरी भएको थियो भन्ने एकिन कुरा बाहिर ल्याउन सकेको छैन भने एक जनालाई पनि पक्राउ गर्न सकेको छैन्। घटनाबारे अनुसन्धान एवं छानविन गर्न गत बुधबार प्रहरी प्रधान कार्यालयले गठन गरेको प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला नेतृत्वको ३ सदस्यीय छानविन समितिले विहीवारदेखि घटनास्थल पुगेर सरोकारवालाहरुसँग सोधपुछ सहितको छानविन सुरु गरिसकेको छ। 

प्रकाशित: १६ कार्तिक २०७५ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App