२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मुस्लिम समुदायलाई पनि लाग्यो दशैं, पूर्वमा देखियो धार्मिक सहिष्णुताको नमूना

विराटनगर– वडादशैंलाई नेपालीको महान चाड भनिन्छ, केहीले भने हिन्दूहरुको मात्रै भन्ने गरेका छन्। यो तर्कलाई पूर्वका मुस्लिम समुदायले खण्डित गरेका छन्। यहाँ मुस्लिमलाई पनि दशैं लागेको छ। यसैक्रममा संघीय समाजवादी मुस्लिम फोरमले मोरङको क्षेत्र नम्बर २ मा पर्ने सुनवर्सी नगरपालिकास्थित डाइनाचोकमा दशैं शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।  

कार्यक्रम आयोजक तथा मुस्लिम फोरमका अध्यक्ष सवरेज आलमले दशैं हिन्दूहरुको मात्र नभई सबै नेपालीको महान चाड भएको बताउँदै शुभकामना मन्तव्य दिए। ‘दशैं सबै नेपालीको महान चाड हो। हिन्दू, राई लिम्बुको मात्रै होइन’, उनले भने, ‘यो चाडले नेपाल र नेपालीलाई एकताबद्ध बनाएको छ। सबै मिलेर समृद्ध देश बनाऔं।’

दशैं आफूहरुको पनि चाड भएको भन्दै उनले भाइचाराको विकास र सुख समृद्धिको कामका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए। ‘यो समाज एकबद्ध भएर अघि बढ्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरेका हौं। दशैं हाम्रो पनि चाड हो। सबैले मनाउनुपर्छ’, उनले भने।

कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका सहअध्यक्ष योगीलाल यादवले मुस्लिम समुदायले धार्मिक सहिष्णुताको उच्च नमूना प्रस्तुत गरेको बताए। ‘मुस्लिम धर्म मान्ने संगठनले यो कार्यक्रम गर्नु धार्मिक सहिष्णुताको उच्च नमूना हो। यसले हिन्दू र मुस्लिम भाइचाराको सम्बन्ध बढाउँछ’, उनले भने, ‘यसले समाजमा राम्रो सन्देश दिएको छ। विकृत समाजलाई पाठ सिकाएको छ।’ यो कार्यक्रमले सामाजिक सद्भाव बढ्ने उनको विश्वास छ।

उनले आफ्नो पार्टी अहिले सरकारमा गएपनि सरकारभित्रको प्रतिपक्षी भएको बताए। जबसम्म संविधान संशोधन हुँदैन तबसम्म आफूहरु संषर्षरत रहने उनले स्पष्ट पारे। 

कार्यक्रमका विशिष्ट अतिथि संघीय समाजवादी फोरमका केन्द्रीय परिषद सदस्य एवं प्रदेश नम्बर १ सदस्य दुर्गामणी सुवेदीले एउटा समूहले मनाउँदै आएको धर्मलाई मुस्लिमले शुभकामना दिएर भाइचारा, समृद्धि सुख शान्तिको कामना गरेकोमा धन्यवाद दिँदै यसले दशमै सामाजिक सद्भावको सन्देश दिएको बताए। 

‘धर्मले विश्वनै धुव्रीकरण भइरहेको बेला यो कार्यक्रमले सामाजिक जागरण, समृद्धिलाई सघाउँछ’, उनले भने, ‘संघीयता, समानुपातिक, समावेशीताले गर्दा नै जनता जनतामा जागरण आएको छ। त्यस हिसाबले एकले अर्काेलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ। समाज यसरी जागरण भयो भने देश समृद्ध हुन्छ।’

कार्यक्रममा फोरमका प्रदेश समिति सदस्य तथा जिल्ला अध्यक्ष राजकुमार यादव, क्षेत्रीय अध्यक्ष गणेश राय, मुस्लिम अगुवाले दशैंको शुभकामना दिएका छन्। कार्यक्रममा हिन्दू र मुस्लिम समुदायका व्यक्तिले अंगालो हालेर शुभकामना साटासाट गरेका थिए।

प्रकाशित: ३१ आश्विन २०७५ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App