२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

हिन्दू राष्ट्रको एजेण्डा उठाउने बेला आयो : शशांक कोइराला

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बेला आएको बताएका छन्। राष्ट्रिय स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने उनको प्रस्ताव छ। 

बिहीवार प्रजातान्त्रिक प्राध्यापक संघ आरआर क्याम्पसद्वारा आयोजित लोकदृष्टि जर्नलको लोकार्पण तथा विजयादशमी दिपावली नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले हिन्दू राष्ट्रको एजेण्डा उठाउने अब समय आएको बताए। ‘केन्द्रीय सदस्य स्व. खुमबहादुर खड्काले पनि भन्नुभएको थियो, त्यतिबेला मैले संविधान भर्खरै बनेको छ। परिस्थती स्थिर भएपछि उपयुक्त समयमा अघि बढ्नुपर्छ भनेको थिएँ। अब समय आएको छ हिन्दू राष्ट्रकाे मुद्दा उठाउनुपर्छ’, उनले भने। 

संघीयताले सिंहदरवारको अधिकार जनतामा हस्तान्तरण हुने भनेको तर वर्तमान सरकार संघीयता विरोधी काम गरिरहेको उनले आरोप लगाए। ‘सरकारले नारामा सिंहदरवारको अधिकार जनता भनेको छ, तर प्रदेशलाई बजेट दिँदा ६० प्रतिशत केन्द्रमै राखेको छ’, उनले भने, ‘उनीहरुले नै संघीयताविरोधी काम गरिरहेका छन्। सरकारको पनि मानसपटल परिवर्तन हुनुपर्छ। अधिकार दिनैपर्छ।’

महामन्त्री कोइरालाले संशोधनको चरणमा रहेको विधानले हरेक नेपाली, कांग्रेसको कार्यकर्तालाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भन्ने कुरालाई समेट्नुपर्नेमा जोड दिए। विपी कोइरालाले आफ्नै हातले लेखेको विधान परिमार्जन हुन लागेको भन्दै उनले सम्वेदनशील भएर संशोधन गर्न मस्यौदा समितिलाई आग्रह गरे। 

आन्तरिक द्वन्द्व र विभाजनले पार्टी चुनावमा हारेको भन्दै उनले भने, ‘हामी एकताबद्ध भएमा कसैले हराउन सक्दैन्। किनकी कांग्रेसको सिद्धान्त, इतिहास र कार्यकर्ता बलियो छ’, उनले भने, ‘अब नेपाली कांग्रेस अघि बढ्छ, आउँदो चुनावमा पार्टीलाई एक नम्बरमा पारेर विश्राम लिन्छौं।’

कार्यक्रममा महामन्त्री कोइराला, केन्द्रीय सदस्य भीनसेनदास प्रधानले प्रजातान्त्रिक प्राध्यापक संघ आरआर क्याम्पसद्वारा प्रकाशित लोकदृष्टि जर्नलको लोकार्पण गरेका थिए। जर्नलमाथि नाष्टका निवर्तमान उपकुलपति जीवराज पोखरेल, आरआर क्याम्पसका गोविन्द प्रसाद आचार्यले टिप्पणी गरेका थिए भने सभापति उद्धव सिग्देलले प्रकाश पारेका थिए। कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका संस्थापक अध्यक्ष सुनीलकुमार पौडेल, सांसद भीमसेन दास र कांग्रेस महामन्त्री शशांक कोइरालालाई सम्मान गरिएको थियो। 

संघका महासचिव राजेन्द्र गौतम, प्राध्यापक वासु घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १८ आश्विन २०७५ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App