२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने

विराटनगर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने भएको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्। 

निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताउँदै मन्त्री थापाले भने, ‘पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषदमा छलफल गरेर सार्वजनिक गर्छौं।’ छानबिन प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब आइरहेका बेला थापाको यस्तो भनाई आएको हो। 

विखण्डनकारीलाई कारवाही गर्छौं
गृहमन्त्री थापाले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताए। वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने उनको प्रतिबद्धता छ।

थापाले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको जिकिर गरे। उनले भने “विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएकोले वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको छ।”

थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गरे। गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न गएका हुन्।  

 

प्रकाशित: १४ आश्विन २०७५ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App