२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्मलाका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने : गृहमन्त्री

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन्। उनले भने, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ। म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु। जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ। नतिजा (रिजल्ट) छिट्टै आउँछ।”

प्रतिनिधिसभा, महिला र सामाजिक समितिको बिहीवारको बैठकमा गृहमन्त्री थापाले महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए। महिला माथि हुने हिंसा अपराध नै हुन्, यस्ता अपराधलाई अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै गृहमन्त्री थापाले हिंसालाई राजनीतिकरण नगर्न आग्रहसमेत गरे। 

उनले भने, “महिला हिंसालाई बढवा गर्ने तत्वका रुपमा रहेका मदिरा नियन्त्रण, लागुपदार्थ निषेध र अश्लिल प्रकारका विद्युतीय सामग्रीलाई बन्द गरिनुपर्छ, यसमा सरकारले गृहकार्य गरिराखेको छ।” गृहमन्त्री थापाले महिलालाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्ने पूँजीवादी संस्कारले गर्दा महिला हिंसा बढेका हो दाबी गरे। गृहसचिव प्रेम राईले महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि अन्तर मन्त्रालयको समन्वय र बजेटमा समेत वृद्धि गरिनुपर्नेमा जोड दिए। 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिलाले आफूमाथि हुने हिंसालाई प्रहरीकहाँ दर्ता गराउनेक्रम बढेको दाबी गर्दै महिला हिंसा अन्त्य गर्न प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म कार्य सम्पादन गरेको बताए। 

प्रकाशित: ११ आश्विन २०७५ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App