२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

काठमाडौं - निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी देखाइएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको छ। गृहमन्त्री थापाले प्रतिवेदनमा सुझाइएका विषयवस्तु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिवेदनमा एसपी बिष्टकै कारण आन्दोलनको स्वरुप बढेको तथा पीडित परिवारले न्याय पाउन ढिलाइ भएको उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो। प्रतिवेदनमा प्रहरीबाट भएका लापरबाही उल्लेख गरिएको छ। पीडित परिवारले शंका गरेका व्यक्तिहरुलाई जिल्लाका तत्कालीन प्रहरी अधिकृतहरुले किन संरक्षण गरे भन्ने विषय पनि खुलाइएको छ।

तत्कालन सार्वजनिक नहुने
गृह मन्त्रालय स्रोतका अनुसार छानबिन प्रतिवेदन प्रहरी अनुसन्धान सकिएपछि मात्रै सार्वजनिक हुने भएको छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषय प्रमाणका रुपमा भएकाले तत्काल सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमा प्रभाव पर्छ। समितिले प्रहरीको लापरबाही र घटनास्थलको अध्ययन गरेर प्रतिवेदन तयार पारेकाले बलात्कार र हत्याको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै भएको उल्लेख छ। प्रतिवेदनमा निर्मलाको शवसँगै भेटिएको सुरुवाल धुनु र र उनको शरीरका कपडा नष्ट गरिनु गलत भएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले निर्मलाको ‘भेजिनल स्वाब’ घटनास्थलबाट जोगाएको र त्यसले अनुसन्धानमा सहयोग मिलेको पनि उल्लेख छ। ‘भेनिजल स्वाब नभएको भए डिएनए परीक्षण गर्न सकिँंदैनथ्यो। त्यसलाई जोगाइएको छ। यसले गर्दा ढिलोचाँडो अपराधी पत्ता लगाउन सजिलो हुनेछ’, प्रतिवेदन उद्धृत गर्दै छानबिन समितिका एक सदस्यले भने, ‘घटनास्थलमा देखिएका सबै विषय प्रतिवेदनमा छ। त्यसले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ।’

ती सदस्यले भने, ‘साउन १० गते निर्मला पन्त हराउनेबित्तिकै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले स्थानीय प्रहरीचौकीका प्रहरी निरीक्षक जगदीश भट्टको कमजोरी देखियो। त्यसलाई ढाकछोप गर्न एसपी बिष्ट लागिपरेको संकेत छ।’ समितिले अनसन्धानका क्रममा एक सयजनाभन्दा बढी स्थानीयसँग सोधपुछ गरेको छ । समितिले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सबै प्रहरी कर्मचारी र तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग पनि बयान लिएको छ।

सिआइबीको अनुसन्धान विवादमा तानिएपछि मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो। सिआइबीकै सहयोगमा स्थानीय दिलीप बिष्टलाई पक्राउ गरी प्रहरीले दोषी भन्दै भदौ ४ गते सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्केको थियो। प्रहरीले अभियुक्त बनाएका बिष्टलाई उपचार र डिएनए परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। तर, डिएनए रिपोर्ट नमिलेपछि बिष्ट रिहा भइसकेका छन्। हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यात संयोजकत्वको ९ सदस्यीय टोलीले हत्या घटना र त्यसको छानबिनमा संलग्न प्रहरीमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० आश्विन २०७५ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App