३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छेन्दुमा महावाणिज्य दूतावास खोल्न नेपाललाई चीनको प्रस्ताव

छेन्दु– चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार शुक्रबार विहान ९ बजे शिष्टाचार भेट गरेका थिए।

भेटमा उपराष्ट्रपति पुनले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको बताए। उनले सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए। उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए।  

उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला सम्झौता र समझदारीहरुले दुई देशबीचको सम्बन्ध परम्परागत भन्दा माथि उठेको बताए। उनले व्यापार तथा पारवाहन सम्झौता, बिआरआईमा नेपालको सहभागिता र व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको बताए। 
नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै पुनले नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। नेपालको समृद्धिमा सिचुवान प्रान्तका सहयोग रहने समेत बताए। 

उपराष्ट्रपति पुनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिक माझ प्रचार प्रसार गरिदिन आग्रह गरे। उनले अहिले नेपालमा सबै भन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ रहेको समेत जानकारी गराए।

भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको बताए। उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि धन्यवाद दिए।

उनले नेपालको चौतार्फी विकासका लागि सहकार्य गर्न सिचुवान प्रान्त तयार रहेको बताउँदै नेपाल र सिचुवानको सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिए।

सचिव पेङले एक चीन नीतिप्रति नेपालको समर्थन, प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबाट चीन अत्यन्त खुशी रहेको बताए। उनले नेपालको एक चीन नीतिप्रतिको दृढ्ता दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पु¥याउने राजनीतिक आधार भएको बताए।

नेपालको भ्रमण गर्नेमा सिचुवान प्रान्तका नागरिक अधिक रहेको उल्लेख गर्दै सचिवले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न र संस्कृतिको अनुभव गर्न चिनियाँ नागरिक आतुर रहेको बताए। 

सचिव पेङले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने प्रस्ताव गरे। ‘सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु’, उनले भने, ‘महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ।’ 

भेटमा उपराष्ट्रपतिसँग चीनका लागि नेपाली राजदूत लिलामणी पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव रामप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत उपस्थित थिए। सिचुवान प्रान्तको तर्फबाट सचिव सहित गभर्नर, उपगभर्नरहरु उपस्थित थिए। 

उपराष्ट्रपतिसँग शुक्रबार नै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपति शुक्रबार नै यिपिन नगरको भ्रमणका लागि छेन्दुबाट त्यसतर्फ प्रस्थान गरेका थिए। उपराष्ट्रपतिले शुक्रबार विहान छेन्दुमा रहेको दुई सय वर्ष पूरानो टासी मन्दिरको अवलोकन भ्रमण समेत गरेका छन्। 

प्रकाशित: ५ आश्विन २०७५ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App