२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री चीन जाँदै

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली बुधबारदेखि चार दिने चीन भ्रमणमा जाँदैछ। कर्णाली प्रदेशसँग सीमा जोडिएको चीनको सिचुवान प्रान्तीय सरकारको निमन्त्रणामा उपराष्ट्रपति नन्दकिशोर पुन, कर्णालीका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोली चीन जान लागेको हो।

चीनमा रहँदा प्रदेश सरकारले त्यहाँका सरकारी अधिकारीका साथै व्यवसायीहरुसँग कर्णालीमा लगानीका विषयमा छलफल गर्ने छ। यसका साथै कर्णालीको समृद्धिसँग जोडिएको जमुनाह–हिल्सा सडकको संभाव्यता अध्ययनका लागि प्रन्तीय सरकारसँग विस्तृत संभाव्यता अध्ययनमा हस्ताक्षर हुने संभावना छ।

भारतसँगको सीमा जमुनाह नाकादेखि चीन जोड्ने हुम्लाको हिल्सा ‘फाष्ट ट्याक’ निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ। ‘सीमा जोडिएका नाताले सिचुवान प्रान्तको प्रान्तीय सरकार जमुनाहदेखि हिल्सासम्मको सडक निर्माणमा लगानी गर्न इच्छुक देखिएको छ’ मुख्यमन्त्री शाहीले भने, ‘संभवतः फाष्ट्रट्याकको विस्तृत संभाव्यता अध्ययनमा संझौता हुन्छ ।’ यसका साथै विद्युत, कृषि, पर्यटन र पूर्वाधारमा चिनियाँ लगानी भित्र्याउन भ्रमण फलदायी हुने मुख्यमन्त्री शाहीले विश्वास व्यक्त गरे।

कर्णालीमा नर्थवेस्ट टोली

चीन भ्रमणको पूर्व सन्ध्यामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनका प्रतिनिधिहरुलाई कर्णालीका विभिन्न जिल्लाहरुको भ्रमण गराएका छन् । मुख्यमन्त्री शाहीका अनुसार नर्थवेस्ट सिभिल एभिएसनले कर्णालीमा विमानस्थल र विद्युतमा लगानी गर्न चाहेकाले संभावित क्षेत्रहरुको अवलोकन गराएको बताए । नर्थवेस्ट सिभिल एभिएसनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण निर्माण गरिरहेको छ ।

मुख्यमन्त्री शाहीले विमानस्थलका लागि सुर्खेतको छिन्चु, मुगुको ताल्चा र नजिकैको पाटन, कालिकोटको सुनथराली देखाएका थिए भने विद्युतका लागि तिला कर्णाली, माथिल्लो कर्णालीसहितका सात ठाउँ देखाएका थिए। ‘चिनियाँ कम्पनीले प्रदेश सरकारको आवश्यक पाएमा विमानस्थल र विद्युतमा लगानी गर्ने बताएकाले संभावित क्षेत्रहरुको देखाएको हुँ’ मुख्यमन्त्री शाहीले भने, ‘चिनियाँ कम्पनी कर्णालीमा लगानी गर्न सकारात्मक देखिएको छ।’

 

प्रकाशित: २ आश्विन २०७५ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App