१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

निर्मला पन्तका हत्यारालार्इ कानुनी दायरामा ल्याउन माग राखेर शनिबार राजधानीमा अायाेजित प्रदर्शनमा सहभागी बाबु यज्ञराज र अामा दुर्गादेवी (बायाँ) भावविह्वल अवस्थामा। तस्बिर : विजय रार्इ/नागरिक

काठमाडौं - निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ। ‘सरकार! निर्मलालाई न्याय’ देऊ भन्दै राजधानी काठमाडौंसहित मुलुकका विभिन्न १९ सहरमा स्वस्फुर्त प्रदर्शन गरिएको हो। प्रदर्शनमा हजारौं नागरिक सहभागी भए। घटनाको ५२ दिन बित्दा पनि प्रहरीले दोषी सार्वजनिक गर्न सकेको छैन। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मलाको शव साउन ११ गते गाउँनजिकै उखुबारीको आहालमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

दोषीलाई जोगाउन प्रहरीले नै प्रमाण नष्ट गरेको आरोप लागिरहेका बेला खबरदारी गर्न सडकमा उत्रिएका हजारौं प्रदर्शनकारीले ‘न्यायका लागि जागौं– न्याय हाम्रो अधिकार, मौन बसेको सरकार–किन बढ्दैछ बलात्कार, निर्दोषलाई यातना–दोषीलाई उन्मुक्ति, ‘सरकारले देखायो लाचारी–त्यसैले हाम्रो खबरदारी’ सरकार देखाऊ इच्छा–खै त महिलाको सुरक्षा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीले प्रहरी नै दोषी उम्काउने खेलमा लागेकाले अनुसन्धान फितलो पारिएको आरोप लगाए।

काठमाडौंमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर धर्नामा परिणत भयो। प्रदर्शनकारीले सडकमै बसेर दुई घन्टा धर्ना दिए । निर्मलाकी आमा दुर्गादेवीले न्याय पाउने आस फेरि पलाएको बताइन्। ‘काठमाडौंवासीले मेरो छोरीको हत्यारा पत्ता लगाउन दबाब दिनुभएको छ। न्यायका लागि लडिरहनुभएको छ। जसले गर्दा हत्यारा पत्ता लाग्छ भन्ने विश्वास छ’, दुर्गादेवीले भनिन्, ‘अबचाहिँ आस पलाएको छ।’ न्याय माग्न काठमाडौं आएका निर्मलाका बाबुआमा यज्ञराज र दुर्गादेवी दुवै प्रदर्शनमा सहभागी भए।

प्रदर्शनमा डा. गोविन्द केसी, लेखक खगेन्द्र संग्रौला, मानवअधिकारकर्मी चरण प्रसाईंलगायत लेखक, कवि, कलाकार, संस्कृतिकर्मी बुद्धिजीवीको सहभागिता थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रदर्शनमा ऐक्यबद्धता जनाए। शान्ति तथा मौन जुलुस भनिए पनि प्रदर्शनक्रममा अन्त्यतिर केही युवाले सरकारविरुद्ध चर्को नाराबाजी गरे।

‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मलालाई न्याय दिलाउन राजधानीमा भएको विशाल प्रदर्शनप्रति सरकारको ध्यान जाओस्,’ मानवअधिकारकर्मी प्रसाईंले भने।

सुनसरीमा खबरदारी सभा
निर्मला हत्यारालाई तत्काल कानुनी कठघरामा ल्याउन माग राखेर सुनसरीको इटहरी, इनरुवा र धरानमा पनि प्रदर्शन गरियो। प्रदर्शनकारीले नगरपरिक्रमा गरी कोणसभा गरेका थिए । स्वस्फुर्त प्रदर्शनमा विद्यार्थी, प्राध्यापक, कानुन व्यवसायी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, सर्वसाधारणलगायत सयौंको सहभागिता थियो। कोणसभााका वक्ताले योजनाबद्ध रुपमा प्रमाण नष्ट गरेर निर्मलाका हत्यारालाई उन्मुक्ति दिने चलखेल भएकाले निरन्तर खबरदारी गर्नुपर्ने बताए। कोण सभालाई मानवअधिकारकर्मी रमेश भट्टराई, अधिवक्ता वसन्त सुवेदीलगायतले सम्बोधन गरे।

झापामा मौन जुलुस
रिडर्स भापाको आयोजनामा काँकडभिट्टा र दमकमा प्ले कार्डसहित मौन जुलुस निकालियो। जुलुसपछि आयोजित कोणसभामा नमुना निरौला, पुन्यप्रसाद खरेल, पुष्पराज पौडेल, उज्वल प्रसाईंलगायतले निर्मलाका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन चुकेको बताए।

विराटनगरमा प्रदर्शन
महिला अधिकारकर्मीको अगुवाइमा मोरङको विराटनगरमा मौन जुलुस निकालियो। सहभागीले पीडित परिवारलाई न्याय दिन र हत्यारालाई कारबाही गर्न माग गरे। त्यस्तै विराटचोकमा पनि सामाजिक अभियन्ताको अगुवाइमा प्रदर्शन गरियो। उदयपुरको गाइघाटमा पनि प्रर्दशन भएको छ।

चितवनमा कविता वाचन
चितवनको भरतपुरमा पनि न्याय माग्दै प्रदर्शन गरियो। साहित्यकार ईन्द्र रेग्मीलगायतले घटनासँग सम्बन्धित मुक्तक, कविता र गीत सुनाए। साहित्यकार, पेसाकर्मी, अधिकारकर्मी तथा सर्वसाधारण साँझ पाँच बजे चौबिसकोठीमा जम्मा भएर निर्मलालाई न्यायको पुकार गरे।

नेपालगन्जमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन
नेपालगन्जमा पनि आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरियो। बिपीचोकमा भेला भएका प्रदर्शनकारीले १० मिनेट आँखामा पट्टी बाँधे। अधिकारकर्मी, विद्यार्थी, सञ्चारकर्मी र राजनीतिकर्मी प्रदर्शनमा सहभागी थिए। प्रदर्शनमा अधिकारकर्मी नमस्कार शाह, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले निर्मलाका हत्यारालाई कारबाही माग गरे।

पाल्पा, प्युठान र रोल्पामा पनि प्रदर्शन
हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग राखेर प्युठानका नागरिक अगुवा पनि सडकमा उत्रिए। रोल्पाको लिबाङमा पनि न्याय माग्दै जुलुस निकालियो। जुलुसका सहभागीले निर्मलालाई न्याय माग्दै बजार परिक्रमा गरे। पाल्पामा मौन -याली निकालियो। निर्मलालाई न्याय अभियान फेसबुक ग्रुपमार्फत निकालिएको -यालीमा तानसेनवासी सहभागी भएका थिए। -यालीमा सहभागी दिवाकर पाण्डेले निर्मला हत्या आफैंमा दुःखद घटना भएको बताए। उनले छानबिनसमेत प्रभावित पार्न खोजिएकाले सडकमा उत्रिनुपरेको बताए।

सरकारले दोषी लुकाउन खोजेको आरोप
सामाजिक अभियन्ताको सक्रियतामा पोखरामा पनि दबाब -याली निकालियो। प्रदर्शनकारीले सरकारले दोषी लुकाउन खोजेको आरोप लगाए । -यालीपछिको सभामा सामाजिक अभियन्ता सावित्री गौतमले छोरीका लागि अहिलेको समय निकै नै चुनौतीपूर्ण रहेको बताइन् । साहित्यकार सरस्वती प्रतीक्षाले बलात्कारीलाई कारबाही नभएसम्म खबरदारी जारी राख्नुपर्ने बताइन् । जुलुसमा सयौंजना सहभागी थिए।

प्रकाशित: ३१ भाद्र २०७५ ०१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App