काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले समृद्ध राष्ट्र निर्माणको महाअभियान लिएर वर्तमान सरकार अघि बढेको भएतापनि थुप्रै चुनौतिहरु आफुहरुका अगाडी आइरहेको बताएका छन्। नेकपाका केन्द्रीय सदस्य एवं अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै दाहालले दिन प्रतिदिन समाजमा बढ्दै गएका विकृति र विसङ्गतिका घटना सरकारका विरुद्ध नियोजित रुपमा आउन लागेको त होइन भन्ने प्रश्न सिर्जना भएको बताए।
आदर्श समाज निर्माण गर्ने प्रवृत्ति कमजोर हुँदै समाजमा अराजकता र विचलित मनोविज्ञान देखिएको दाहालले बताए। समाजवादको महान् यात्रामा अघि बढ्ने सम्भावना र आधारहरु मजबुद हुदाहुँदै पनि अमानवीय घटना दिन प्रतिदिन बढ्दै जाँदा नेपाली समाज ठूलो अन्तर विरोधमा रहेको देखिएको बताउँदै अध्यक्ष दाहालले विसङ्गतिका विरुद्धमा लड्न युवा लाग्नुपर्नेमा जोड दिए। आदर्शका निम्ति समर्पित हुँदा प्राप्त गर्ने सन्तोष अन्य अवस्थामा प्राप्त गर्न नसकिने बताउँदै अध्यक्ष दाहालले भने 'धन कमाएर, अध्ययन गरेर मात्र सन्तोष हुँदैन, महान् उद्देश्य हासिल गर्दा प्राप्त हुने आनन्द कहीँ पाइदैन, मान्छे आदर्शका निम्ति मर्छ र बाँच्छ, उद्देश्यमूलक जीवन जीउनुको सन्तोष अन्य अवस्थामा हुँदैन।'
प्रकाशित: २८ भाद्र २०७५ १४:४५ बिहीबार