काठमाडौं - चर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित अनुसन्धान टोलीले त्यसको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिनुपर्ने सुझाव दिएको छ। प्रधामन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा सो अनुसन्धान टोलीले संगठित प्रकृतिको अपराध भएकाले अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दिन सिफारिस गरेको हो। प्रधामन्त्री कार्यालयमै थन्किएको ७ सय ५२ पृष्ठको सो प्रतिवेदन सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको छ। प्रधामन्त्री कार्यालयले सो प्रतिवेदन अहिलेसम्म गृह मन्त्रालयलाई हस्तान्तरण गरेको छैन। प्रतिवेदन गृहमा नआउँदासम्म त्यसको थप अनुसन्धान समेत रोकिएको छ।
गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएपछि बानेश्वर र अनामनगरको बीचबाटै गायब भएको थियो। अनुसन्धान प्रतिवेदनमा सो सुन अनामनगरबाट हरायो वा हराएको होइन भन्ने विषयमा थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको अनुसन्धान टोलीका एक सदस्यले बताए। स्रोतका अनुसार प्रतिवेदनमा थाई एयरलाइन्सका कर्मचारी सानु वनले ३३ किलो सुन बोकेर हिँडेका थिए। वनलाई पछ्याउँदै तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ गए पनि सुन लुटिएको विषयमा लामा अनभिज्ञ थिए। ‘वनले सन् २०१८ जनवरी २३ तारिखको दिन सुन लिएर जानेक्रममा बाटैबाट हराए भन्ने दुई दिनपछि मात्रै तक्ले भन्ने पुण्यप्रसादले थाहा पाएका कारण त्यो सुन लुटिएको हो वा होइन भन्नेमा यकिन गर्न सकिएन,’ प्रतिवेदनमा उल्लेख छ।
सुन हराएको हो वा होइन भन्ने विषयको थप अनुसन्धान गर्न पनि सिआइबीलाई दिनुपर्ने अनुसन्धान टोलीमा संलग्न ती सदस्यको भनाइ छ । वनले बोकेको सुन लुटिएको भन्दै चुडामणि उप्रेती गोरेलाई खबर गरेपछि उसकै मानसिक यातनाका कारण वनले गत माघ २२ गते एयरपोर्टभित्र नै ट्यांकरमा ठोक्किएर आत्महत्या गरेका कारण सुन कसले लुटेको हो भन्ने खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार तस्करीको सुन वीरेन्द्रमान श्रेष्ठ र गोपालकुमार श्रेष्ठले भुजुङ गुरुङको घरमा लैजानुपर्नेमा अन्त कतै गएकोे पनि देखिँदैन। सो सुन गोपालकुमार श्रेष्ठले चलाउने गरेको बा३९प ९३० नम्बरको स्कुटरमा बनाएको फल्स बटमभित्र लुकाई लालबहादुर मगरले मोटरसाइकलमा स्कर्टिङ गर्ने गरेको थियो । सुन भुजुङ गुरुङलाई दिनुपर्नेमा वनले कसलाई दियो वा लुटिएको हो केही नखुलेपछि त्यसको अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको अनुसन्धान टोलीका एक सदस्यले बताए। उनका अनुसार अनुसन्धान टोलीले पक्राउ गरेका व्यक्तिहरूले समेत सुन लुटिएको हो वा होइन भन्ने यकिन जवाफ दिन नसकेको प्रतिवेदनमा उल्लेख छ।
३३ किलो सुन एयरपोर्टभित्र नै काम गर्ने राजु महर्जनले आफैंले नेपाल एयरलाइन्सको डेलिभरी भ्यानभित्र हात झुन्ड्याउने ब्यागमा लुकाएर ल्याई तक्लेलाई दिएको र त्यसपछि वनले सो सुन ग्रे कलरको युनिकर्न मोटरसाइकलमा पेट्रोल हाल्ने ट्यांकीमा बनाएको फल्स बटनमा हालेर तक्लेलाई पनि अर्को मोटरसाइकलमा आउन निर्र्देशन दिएको देखिन्छ। सो प्रतिवेदनमा सुन पु-याउन तिमी पनि जानु पर्छ भनेपछि तस्करीको सुन आफ्नै मोटरसाइकलमा लिएर गएको वनको पछिपछि तक्ले गए पनि सुन लुटिएको उसले नदेखेको उल्लेख छ। ‘वन सरको मोटरसाइकलको तेलको ट्यांकीमा सुनको पिसहरू लुकाई सुन पु¥याउन आआफ्नो मोटरसाइकलमा अनामनगर गयौं। अनामनगरमा हामीले सुन दिनका लागि मोटरसाइकल छिराउने सटरअगाडि दुईवटाजति मोटरसाइकल र ३/४ जना मानिस भेला भएको देखेपछि वन सर अगाडिअगाडि र म पछिपछि मोटरसाइकल चलाई उक्त सटर क्रस गरेर अगाडि गयौं।
केही अगाडि पुगेपछि वन सरले मोटरसाइकल रोकेपछि म निजलाई क्रस गरेर १०/१५ मिटर अगाडि गई मोटरसाइकल रोकी मैले निजको मोबाइल नं.९८४१५२२३१५ मा मेरो मोबाइल नं.९८४९९९९११८ बाट फोन गरी किन के भयो? किन मोटरसाइकल रोक्नु भएको भनी सोध्दा यहाँ खतरा छ जस्तो छ तिमी यहाँबाट गइहाल भनेपछि म मोटरसाइकलमा चलाई झन्डै ५०० मिटरजति अगाडि एउटा चोकमा पुगेपछि के गर्ने भनेर अन्योल भएपछि मोटरसाइकल रोकी पुन वन सरलाई फोन गरे, फोन लागेन,’ प्रतिवेदनमा तक्ले भन्ने पुण्यप्रसादको बयानलाई जस्ताको तस्तै राखी सुन लुटिएको हो वा होइन भन्ने बारेमा अन्योल देखिएको उल्लेख छ।
प्रकाशित: २४ भाद्र २०७५ ०२:१३ आइतबार