१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘कोइराला परिवार मात्र हैन सम्पूर्ण कांग्रेसी एक बनाउने अभियानमा लागेको छु’

सर्लाही– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुटउपगुटका कारण पार्टीको अवस्था दयनीय भएको बताएका छन्।

‘भर्खरै सम्पन्न तीनवटै तहको निर्वाचनमा वामपन्थी शक्ति एक भएर कांग्रेस हारेको हैन’, बुधबार सर्लाहीको हरिवनमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले भने, ‘पार्टी भित्रैको गुटउपगुटका कारण कांग्रेसले लज्जास्पद् हार व्यहोर्नु परेको हो।’ 

पार्टीले पाएको समानुपातिक भोटको अवस्थाले नै कांग्रेसभित्र चरम गुटबन्दी रहेको तथ्य प्रमाणित भएको उनले बताए। ‘समानुपातिक भोटमा त हामी बलियो हैसियतमै छौं’, कोइरालाले थपे, ‘प्रत्यक्ष निर्वाचनको हार भनेको वामपन्थी शक्तीको एकता नभई हामी भित्रैको गुटउपगुट प्रमुख कारण हो।’

फरक विचारका बामपन्थी शक्तिहरु एकजुट भइसकेको अवस्थामा गुटउपगुटमा अल्झिएका कांग्रेसीहरु एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाई छ। गुटउपगुट अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउनका लागि आफू अहोरात्र लागि परेको समेत कोइरालाले दाबी गरे। ‘अब ४ वर्ष संगठन विस्तार गर्दै पार्टीलाई एकढिक्का बनाउनुको विकल्प छैन’, उनले भने, ‘सशक्त प्रतिपक्षका लागि पनि गुटउपगुटको अन्त्य हुनु जरुरी छ।’

पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवार एक हुने दावी गर्दै आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागेको उनले बताए। ‘कोइराला परिवार मात्र हैन सम्पूर्ण कांग्रेसी एक बनाउने अभियानमा लागेको छु’, उनले थपे, ‘गुटउपगुट अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउनका लागि म जस्तोसुकै त्याग गर्न तयार छु र आम नेता कार्यकर्ताले पनि त्याग गर्न सक्नुपर्छ।’

गुटउपगुट अन्त्य गर्ने अभियानमा लागेको भन्नुहुन्छ तर तपाईं प्रमुख अतिथि भएको मंगलबारको कार्यक्रममा जिल्ला सभापतिसहित केन्द्रीय सभापति देउवा निकट नेता कार्यकर्ताको सहभागिता भएन नि ? भन्ने नागरिकको प्रश्नमा कोइरालाले भने, ‘हैन जिल्ला सभापतिज्यूको कार्य व्यस्तताका कारण सहभागिता नभएको होला।’ कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार सदरमुकाम मलंगवामा आयोजित अगूवा कार्यकर्ता भेलामा जिल्ला सभापति नागेन्द्रकुमार रायसहित उनी निकटका नेता कार्यकर्ताहरुको मञ्चमा उपस्थिती थिएन। कार्यक्रममा बोल्ने अधिकांश नेता कार्यकर्ताले गुटउपगटका कारण पार्टीले तीनवटै तहको निर्वाचनमा लज्जास्पद् हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकढिक्का बनाउन आग्रह गरेका थिए। 

त्यस्तै महामन्त्री कोइरालाले बामपन्थी सरकारको नीति नै स्पष्ट नभएको दाबी गरेका छन्। ‘वर्तमान बामपन्थी सरकारको नीति नै स्पष्ट छैन’, उनले व्यंग्य गरे, ‘खाली समृद्ध नेपाल, समृद्ध नेपाल सुनाउने बाहेक केही काम देखिएको छैन्।

प्रकाशित: १३ भाद्र २०७५ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App