भीमदत्तनगर- कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो।
बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।
सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको बताए।
त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णय भएको उनले बताए।
बैठकले आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोडका साथै आगजनी, क्षति र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोग विषयमासमेत छानबिन गरी दोषीलाई कारवाहीका माग गर्न गृहमन्त्रालयलाई आग्रह गरिएको छ।
सर्वपक्षीय बैठकमा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर आएपश्चात् घटनाका विषयमा जनमत बुझिसकेको बताउँदै निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाइदिन आग्रह गरे।
“स्थिति अब हामी सबै मिलेर सामान्यकरण गर्दै लैजानुपर्छ”, संयोजक मैनालीले भने, “विगतको अनुसन्धानका कमीकमजोरी औँल्याएरसमेत अगाडि बढ्दै छौँ।” बैठकमा बोल्ने अधिकांश वक्ता निर्मला हत्याकाण्डको अनुसन्धानमा शुरुवातदेखि नै कञ्चनपुर प्रहरीको गम्भीर लापर्बाही देखिएको भन्दै शून्यबाट पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन्।
अधिवक्ता एवं नागरिक समाज कञ्चनपुरका सहसंयोजक पुनमसिंह चन्दले प्रहरीले अनुसन्धान प्रक्रियामा गरेको लापर्बाहीका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँदै निर्मला गृहकार्यका लागि गएको साथीको घरबाट अनुसन्धान शुरु गर्नुपर्नेमा जोड दिए।
“स्थानीय प्रशासनलाई आन्दोलनरत पक्षको जनभावना थाहा हुँदाहुँदै पनि अनुसन्धानमा बचाऊ गर्दै मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई नाटकीय शैलीमा सार्वजनिक गरियो,” उनले भने, “अब निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाउन सबै लागौँ।”
नागरिक समाज कञ्चनपुरका पूर्वअध्यक्ष नरबहादुर साउँदले शुक्रबार प्रहरीबाट भएको गोली प्रहारप्रति आपत्ति जनाउँदै निर्मला काण्डमा प्रहरीबाट दमन र हत्यारा बचाउको प्रयास भएको धारणा व्यक्त गरे।
“हामीले स्थिति बिग्रदै छ, समयमै ध्यान दिउँ भनेर प्रहरी उपरीक्षक डिल्लाराज विष्टलाई पटक/पटक भन्यौँ,” साउँदले भने, “तर प्रहरी उपरीक्षकले हाम्रो डेलिगेशनलाई गम्भीरताका साथ कहिल्यै लिनुभएन।” बैठकमा राजनीतिक दलहरुबाट पनि बिग्रेको भीमदत्तनगर र आसपासको वातावरण संयमित बनाउन पहल हुनुपर्नेमा जोड दिएको थियो।
छानबिन समितिलाई तोकिएको मितिसम्म छानबिन सहजरुपमा गर्न दिन वातावरण मिलाउन पहल तीव्ररुपमा भइरहेको बताउँदै निर्मला हत्याकाण्ड दबाब सङ्घर्ष समितिका संयोजक हेलन श्रेष्ठले छानबिन समितिलाई दबाबमा नपरी अनुसन्धान गरेर दोषी पत्ता लगाउनुपर्ने धारणा राखे। रासस
प्रकाशित: ९ भाद्र २०७५ ११:१७ शनिबार