२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाल सैन्यको मुद्दा उठाउने लेनिन विष्टलाई विदेश जान रोक (भिडियाे)

काठमाडौं - सरकारले तत्कालीन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको छ। अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्यान्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई ‘ब्ल्याक लिस्टमा परेको’ भन्दै त्यसतर्फ जान रोकिएको हो। उनीविरुद्ध अदालत वा प्रहरीमा कुनै मुद्दा नभए पनि सरकारले के कारणले विदेश जान रोक लगाएको हो भन्ने खुलेको छैन।

तत्कालीन माओवादी सेनामा काम गरेका बिष्ट सेना समायोजनका क्रममा बाल सैनिक भएको भन्दै अयोग्य घोषित भएका थिए। उनले तत्कालीन माओवादीले सत्तापक्षसँग लड्न बालबालिकालाई पनि ‘जनमुक्ति सेना’ भर्ना गरी बालश्रमको शोषण गरेको तथा शान्तिप्रक्रियामा आएपछि आफूजस्ता थुप्रैको बेवास्ता गरेको आरोप लगाउँदै आएका छन्। तत्कालीन माओवादीका नेताहरू नै अहिले सत्तामा छन्।

माओवादीले द्वन्द्वका बेला ‘जनमुक्ति सेना’ मा बालबालिकालाई भर्ना गरेको, उनीहरूको अवस्था नाजुक भएको र शान्तिप्रक्रियमा आएपछि उनीहरूले द्वन्द्वकालमा पु-याएको योगदानको पार्टीले अवमूल्यन गरेको विषयलाई बिष्टले प्रखर रुपमा उठाउँदै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बिष्टले सरकारसँग अनुमति नलिएका उनलाई थाइल्यान्ड जान रोक लगाइएको जनाएको छ।

‘अन्तर्राष्ट्रिय युवा मञ्चमा सहभागी भएर बालसैनिकका कुरा उठाउँछ भनेर सरकारले मलाई विमानस्थलबाट फर्काएको हो, यात्रा रोक्न आज (शुक्रबार) बिहानमात्र मलाई कालोसूचीमा राखिएको रहेछ,’ बिष्टले नागरिकसँग भने। यसअघि उनले रुसलगायत विभिन्न देशको भ्रमण गरिसकेका छन्। उनी एसियन रिसोर्स गुड गर्भेनेन्सद्वारा थाइल्यान्डमा आयोजित कार्यक्रममा भाग लिन जान लागेका थिए।

बिष्ट नेपाल एयरलाइन्सको आर ए ४०१ उडानमार्फत थाइल्यान्डको बैंकक जान लागेका थिए। ‘बोर्डिङ पास लिएर अध्यागमन विभागको छापसमेत लगाइसकेपछि कार्यालयका एक कर्मचारी आएर मलाई विदेश जान रोक लगाइएको बताए। उनले यसो भनेपछि मैले कारण खोजे तर चित्तबुझ्दो उत्तर दिइएन’, बिष्टले नागरिकसँग भने, ‘माथिको आदेशका कारण मलाई जान नदिइएको रहेछ। तर आदेश दिनेबारे मलाई जानकारी दिइएन।’

अध्यागमन कार्यालयले बिष्टलाई थमाएको पत्रमा भने उनी जान लागेको कार्यक्रममा नेपाल सरकारको कुनै पनि निकायको स्वीकृति नदेखिएकाले भ्रमण अनुमति नदिइएको उल्लेख छ। ‘थाइल्यान्डमा हुने जुन कार्यक्रममा जान लागेको हो त्यसबारे नेपाल सरकारको कुनै पनि निकायबाट सिफारिस तथा स्वीकृति लिएको नदेखिएकाले प्रस्थान अनुमति नदिइएको हो’, पत्रमा लेखिएको छ।

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीको आदेशमा आफूलाई थाइल्यान्ड जान रोक लगाइएको बिष्टको भनाइ छ। ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा बाल सैनिकको विषय उठान गर्दा अहिले सत्तामा पुगेका तत्कालीन माओवादीका नेतालाई अप्ठेरो पर्छ भनेर सुवेदीले मलाई थाइल्यान्ड जान नदिएका हुन’, बिष्टले भने। उनले आफूविरुद्ध अदालत र प्रहरीमा कुनै पनि मुद्दा र उजुरी नपरेको बताए। व्यक्तिगत रुपमा कार्यक्रमा भाग लिन जान लाग्दा पनि सरकारले रोकेको उनको गुनासो लछ। उनले शुक्रबार नै सरकारले आफूलाई विदेश भ्रमणमा रोक लगाएको र जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्।

११ बर्षको उमेरमै माओवादी जनयुद्धमा होमिएका विष्टले बाल सैनिकको विषयमा वकालत गर्दे आएका छन्। काभ्रे स्थायी घर भएका विष्ट लगायतका बर्हिगमनमा परेका अयोग्य लडाकुहरुले तत्कालिन माओवादीको कार्यालय पेरिस डाडामा तालाबन्दी गरी शिव खकुरेल प्रकाश पोखरेल लगायतका १४ जना नेताहरुलाई रातभरी थुनेर राखेका थिए। त्यस घट्नापछि चर्चामा आएका विष्टले बालसैन्यको मुद्धालाई निरन्तर उठाउदै आएका छन्। २०६८ सालको पौष महिनामा उनीसहित १ सय ५० जना अयोग्य लडाकुहरु काठमाडौंको कलंकीमा भेला भएर बर्हिगमित जनमुक्ति सेना नेपाल गठन गरेका थिए। त्यसपछि तत्कालिन माओवादीका गतिविधिप्रति विष्ट असन्तुष्ट बन्दै आएका थिए।

प्रकाशित: ८ भाद्र २०७५ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App