विराटनगर - जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ।
प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन। विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा तराई लैजानुपर्ने बाध्यता छ। यस्ता दर्जनौं स्थानीय तह छन्, जहाँ हजारौं नागरिकका लागि आवश्यक पर्ने एम्बुलेन्स कतै छैन। तर वर्ष दिनअघि चुनिएका जनप्रतिनिधिले भने स्थानीय तहको बजेटमा आफ्ना लागि महँगामहँगा गाडी किनेका छन्।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकासँग एम्बुलेन्स छैन तर गाउँपालिकाका अध्यक्षका लागि ५७ लाख रुपैयाँ खर्चेर स्कार्पियो जिप खरिद गरिएको छ। सदरमुकाम फुङलिङबाट तीन घन्टा पश्चिम पैदल दुरी पूरा गरेपछि पुगिने यो गाउँमा त्यही गाडी पनि पुग्ने बाटो छैन । नयाँ गाडीले गाउँपालिकाको केन्द्र सान्थाक्राबाट दोेभानसम्म ओर्लिएका जनप्रतिनिधि र कर्मचारीलाई सदरमुकामसम्म ल्याउने–लाने काम गर्छ।
सुविधा भोग्ने होड
सर्वसाधारणका टाउकामा करको बोझ थपेर स्थानीय तहका जनप्रतिनिधि धमाधम आफ्ना लागि विलासिताका सवारीसाधन किन्न व्यस्त छन्। तर स्थानीय तहको ध्यान एम्बुलेन्स, दमकल, शववाहनजस्ता अत्यावश्यक सवारी खरिदतिर भने गएको छैन। जनप्रतिनिधिको विलासितामा करोडौं रुपैयाँ खर्च भइरहे पनि दुर्घटना हुँदा, सर्वसाधारण बिरामी पर्दा, आगलागी हुँदा र प्राकृतिक विपत्तिलगायतमा उद्धार गर्ने सवारीचाहिँ नगन्य छन्। केही स्थानीय तहले जनप्रतिनिधिका लागि अघिल्लो आर्थिक वर्षमै नयाँ सवारीसाधन खरिद गरेका थिए।
एउटा सवारीसाधन किन्न एउटै स्थानीय तहले ३० देखि ६० लाख रुपैयाँसम्म खर्च गर्दैछन्। केही स्थानीय तह जनप्रतिनिधि र कर्मचारीका लागि मोटरसाइकल किन्ने तयारीमा छन् । इलामका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये २ नगरमा मात्रै १–१ वारुणयन्त्र छन्। बाँकीमा वारुणयन्त्र, एम्बुलेन्स र शववाहन छैनन्।
जिल्लाको फाकफोकथुम गाउँपालिकाले केही दिनअघि जिप र एक्स्काभेटर किन्न ठेक्का सूचना जारी ग-यो। ४० लाख रुपैयाँभन्दा बढीमा किन्न लागिएको जिप गाउँपालिकाका जनप्रतिनिधि चढ्नका लागि हो। यो गाउँपालिकामा दमकल र एम्बुलेन्स छैन । ‘दमकल र एम्बुलेन्स किन्ने गाउँपालिकाको योजना छैन,’ प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी भन्छन्, ‘अहिले जनप्रतिनिधिका लागि एउटा जिप र एउटा जेसिबी किन्ने योजना छ ।’ यो गाउँपालिकाले जनप्रतिनिधिका लागि लिएको एउटै गाडीको मासिक एक लाख १० हजार रुपैयाँसम्म भाडा छ। भाडामा लिएको उक्त गाडी गाउँपालिकाका अध्यक्षले प्रयोग गरिरहेका छन्। गाउँपालिका वा गाउँसभाको बैठक र कार्यक्रममा जनप्रतिनिधि ओसार्न यही गाडी प्रयोग गरिन्छ।
इलाम नगरपालिकाले उपमेयरका लागि करिब ३८ लाख रुपैयाँ खर्चेर नयाँ गाडी किन्दैछ। ‘मोटो’ रकम खर्चेर मर्मत गरेको पुरानो गाडी चढिरहेका मेयरका लागि पनि नगरले नयाँ गाडी किन्न ठेक्काप्रक्रिया सुरु गरिसकेको छ । ‘मेयरका लागि अब किन्ने नयाँ गाडीको करिब ६० लाख रुपैयाँ पर्छ होला,’ नगरका एक कर्मचारी भन्छन्, ‘गाडी खरिद ठेक्काप्रक्रियामा छ, चाँडै खरिद हुन्छ।’ नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीकै लागि १७ लाख रुपैयाँ खर्चेर सातवटा मोटरसाइकल किन्ने तयारी गरेको छ।
नगरपालिकाले दुई वर्षअघि करिब ३१ लाख रुपैयाँ खर्चेर कार्यालय प्रमुख चढ्ने गाडी किनेको थियो। स्थानीय तहको चुनापछि एउटा गाडीलाई सात लाख र अर्कोलाई करिब चार लाख रुपैयाँ खर्चेर मर्मत गरी जनप्रतिनिधिले प्रयोग गरिरहेका थिए । नगरका जनप्रतिनिधि र कर्मचारीको सवारीसाधनका लागि मासिक ३५ हजारदेखि एक लाख रुपैयाँसम्मको इन्धन खर्च हुने गरेको छ। तर, सर्वसाधारणका लागि अत्यावश्यक सवारीसाधन किन्ने योजनाचाहिँ इलाम नगरपालिकासँग छैन। नगरमा एउटा दमकल तयारी अवस्थामा छ भने अर्काे बिग्रेर थन्किएको छ। जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकासँग एम्बुलेन्स र शववाहन छैन। दमकल मर्मत, एम्बुलेन्स र शववाहन खरिद योजना नरहेको प्रशासकीय अधिकृत रामकुमार शाहले बताए। ‘दमकल मर्मतका लागि धेरै रकम खर्च हुन्छ । एम्बुलेन्स अन्य सामाजिक संघसंस्थाकैले काम दिइरहेका छन्,’ शाहले भने, ‘अर्काे एउटा संस्थाले शववाहन पनि ल्याउने सुनेका छौं, त्यसैले नगरले अहिले यी सवारी किन्ने योजना नबनाएको हो।’
सूर्याेदय नगरपालिकामा एउटा दमकल छ। गत जेठमा करिब ३८ लाख रुपैयाँ खर्चेर जनप्रतिनिधिका लागि स्कोर्पियो जिप किनेको नगरले उपमेयरलाई गाडी किन्न झन्डै ४० लाख रुपैयाँ खर्चने योजना बनाएको छ। ‘दमकलचाहिँ भारतीय दूतावासले दिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, ‘एम्बुलेन्स र शववाहन छैन, किन्ने योजना पनि छैन। उपमेयरका लागि नयाँ गाडी किन्ने प्रक्रियामा छौं।’
देउमाई नगरपालिकामा प्रमुख चढ्ने बोलेरो जिप छ। १३ वटाजति मोटरसाइकल छन्। तर, नगरपालिकाले दमकल किन्न सकेको छैन। ‘दमकल त स्थानीय तहले किन्नै पाउँदैन, मन्त्रालय वा दूतावासले निःशुल्क दिएमात्रै हो,’ नगरका मेयर सूर्य पोख्रेलले भने, ‘दमकललाई धेरै रकम खर्च हुन्छ, एम्बुलेन्स, शववाहन किन्ने योजना पनि छैन।’
माई नगरपालिकासँग भने चारपांग्रे सवारीसाधन छैन। जनप्रतिनिधिहरू भाडामा लिएको गाडीमा चढ्ने गरेका छन् । ‘केही मोटरसाइकल छन्, तिनीहरूकै भरमा नगरको काम चलिरहेको छ,’ नगरका कर्मचारी चन्द्र पौडेलले भने, ‘दमकल, एम्बुलेन्स, शववाहनजस्ता सवारी त हुने कुनै भएन।’ सन्दकपुर गाउँपालिकाले गत वर्ष ३२ लाख २५ हजार रुपैयाँ खर्चेर जनप्रतिनिधिका लागि नयाँ बोलेरो जिप किन्यो। आफ्नो भवन नहुँदा भाडाको घरमा बसेको कार्यालय पनि अहिले आफ्नो नयाँ भवनमा सरेको छ। माइजोगमाई, रोङ, माङ्सेबुङ, चुलाचुलीलगायतका गाउँपालिकामा पनि सर्वसाधारणको सेवाका लागि आवश्यक सवारीसाधन छैनन्।
स्थानीय तह गठन हुँदा नागरिकले धेरैभन्दा धेरै विकास–निर्माण र समृद्धिको अपेक्षा गरेका थिए। ‘२० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा धेरै परिवर्तनको कल्पना गरेका थियौं,’ रोङ गाउँपालिकाका किसान सर्वजित राई भन्छन्, ‘तर, आफ्नो हातमा डाडुपन्यूँ परेपछि कसले सर्वसाधारणको समस्यातिर ध्यान दिने?’
पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकामा बिरामी हुँदा पिकअपमा चढाएर वा बोकेर स्वास्थ्य केन्द्र लैजानुपर्ने बाध्यता छ। बिरामीलाई स्वास्थ्य केन्द्र लैजानका लागि गाउँपालिकासँग एम्बुलेन्स छैन । तर यहाँका प्रमुख ३६ लाख ४५ हजार रुपैयाँको गाडी चढ्छन् । छिमेकी हिलिहाङ गाउँपालिकाको समस्या पनि उस्तै छ। मेची राजमार्गले छोएका ठाउँबाहेकका अन्य बस्तीमा सडक पुगेको छैन। गाउँपालिकाका प्रमुख प्रमुख ५० लाख रुपैयाँको गाडी चढ्छन्।
पाँचथरका आठ स्थानीय तहमध्ये ६ तहका प्रमुखले आफ्ना लागि गाडी किनेका छन्। फिदिम नगरपालिकासहित फालेलुङ, हिलिहाङ, तुमेवा, फाल्गुनन्द, याङवरक गाउँपालिकाले प्रमुखका लागि गाडी खरिद गरेका हुन् । फिदिमले त एउटा गाडी हुँदाहुँदै अर्को नयाँ गाडी किनेको छ। ५९ लाख रुपैयाँमा नयाँ गाडी किनेको प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए। फाल्गुनन्द गाउँपालिकामा ३४ लाखमा टाटा जिप खरिद गरिएको छ । गाउँपालिकासँग आठवटा मोटरसाइकल छन्। यस्तै याङवरक गाउँपालिकाले ३५ लाखमा र तुमेवा गाउँपालिकाले ३६ लाखमा गाडी किनेका छन्।
हिमाली जिल्ला ताप्लेजुङमा पनि स्थानीय तहले धमाधम आफ्ना लागि सवारी खरिद गर्न थालेका छन्। पाथीभरा याङ्वरक र सिदिङ्मा गाउँपालिकाले खाडी खरिद प्रक्रिया अन्तिम चरणमा पुफ्याएका छन् भने अन्य स्थानीय तहले प्रक्रिया थालेका छन्। फुङ्लिङ नगरपालिकाले चालु आर्थिक वर्षमा सवारीसाधन खरिदका लागि ६९ लाख विनियोजन गरेको छ। नगरसभाबाट पारित गाडी खरिदसम्बन्धी व्यवस्था चाँडै कार्यान्वयन गर्ने योजनामा नगरपालिका रहेको छ। एक नगरपालिका र आठ गाउँपालिका रहेका ताप्लेजुङमा नगरपालिका बाहेक गाउँपालिकाको केन्द्रसम्म स्थानीय सरकारले खरिद गरेका गाडी पुग्ने एउटै मात्र केन्द्र पाथीभरा याङ्वरकको थेचम्बु हो। मिक्वाखोला, आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, सिदिङ्वा, सिरिजंघा र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्रसम्म गाडी पुग्न सक्ने अवस्था छैन । तैपनि महँगा गाडी चढ्ने सोखले जनप्रतिनिधि लोभिएकै छन्। यसलाई सर्वसाधारण जनताको करमा चुहाइएको फ्यालको संज्ञा दिन्छन् । ‘पाकिस्तानमा प्रधानमन्त्री धमाधम सुविधा त्याग्दैछन्, हाम्रा स्थानीय सरकार प्रमुखहरू धमाधम सुविधा थप्दैछन्’, इलामका सर्वजित राई भन्छन्, ‘यही पाराले समृद्धि आउला त?’
झापाको गौरादह नगरपालिकाले भर्खरै नयाँ गाडी खरिद गरेको छ । एउटा गाडी हुँदाहुँदै गौरादहले दुई साताअघि अर्को किनेको हो। नगरपालिकाले ५४ लाखमा स्कार्पियो ४ एक्स गाडी खरिद गरेको हो। नगरपालिकाका प्रमुख रोहितकुमार साहले आवश्यकता परेकाले अर्को सवारी खरिद गर्नुपरेको बताए। ‘एउटा मात्रै गाडी छ, त्यसमा कहिले कता अनुगमन जानुपर्छ कहिले कता?’ साहले भने, ‘त्यही भएर अर्को सवारी थपेका हौं।’
कमल गाउँपालिकाले ४५ लाखको स्कार्पियो किनेको छ। दमक नगरपालिकाले कमल गाउँपालिकालाई एउटा सवारीसाधन दिएको थियो। तर त्यो सवारीको अवस्था राम्रो नभएकाले अर्को खरिद गर्नुपरेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन्। ‘गाउँपालिकाको भूगोल ठूलो छ, कहिले जिल्लामा जान पर्छ कहिले प्रदेशसम्म त्यसकारण पनि गाडी आवश्यक थियोे,’ उनले भनिन्। शिवसताक्षी नगरपालिकामा दमकल छैन । फोहोर व्यवस्थापन र नदी नियन्त्रण यो नगरको अहिलेको चुनौती हो। तर नगरले एउटा सवारीसाधन हुँदाहुँदै अर्को खरिद गरेको छ। नगरले झन्डै ७० लाखको जापानिज टोयटा हायस खरिद गरेको हो।
(भीम चापागाईं, इलाम/खगेन्द्र अधिकारी, ताप्लेजुङ/ गिरिराज बाँस्कोटा, पाँचथर/युवराज विवश,दमक)
प्रकाशित: ८ भाद्र २०७५ ००:५७ शुक्रबार