१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

देश बनाउने संकल्प गरौं : मन्त्री बाँस्कोटा

बनेपा – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन्। 

काभ्रेलाञ्चोकको धुलिखेलमा शनिबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताए। 

उनले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदानका लागि आग्रह गरे। कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रका गाउँपालिकामा प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने आवश्यकता औँल्याए। 

अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री दैनिक जीवनसँग जोडिने कुरा भएकाले हेर्दा सामान्य भए पनि ठूलो अर्थ रहने बताए। कलाकार हरिवंश आचार्यले विपत् प्राकृतिक प्रकोपले मात्रै नभई मानिसले आफ्नो जीविका चलाउने सवालमा आफैँले सुरक्षित व्यवस्थापन गर्न नसक्दा पनि आउने गरेको उल्लेख गरे। 

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरिवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल २ हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ।   (रासस)

 

प्रकाशित: २६ श्रावण २०७५ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App