६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

यस्तो छ प्रधानमन्त्रीको सचिवालय

काठमाडौं – पहिलोपटक प्रधानमन्त्री हुँदा सल्लाहकार र सचिवालय चुस्त बनाएको भनेर चर्चा कमाएका केपी शर्मा ओलीले यसपटक पनि सचिवालयलाई प्रभावकारी बनाउने प्रयास गरेका छन्।

प्रधानमन्त्री ओलीले सल्लाहकारमार्फत राष्ट्रिय मामिला, मन्त्रालय तथा मुख्य सचिव र सचिवसँगको समन्वय, प्रधानमन्त्रीसँगको भेटघाट, मिडिया व्यवस्थापन, आइटी व्यवस्थापन तथा प्रधानमन्त्रीका सामाजिक सञ्जालको अपडेट गर्नेलगायतका सहयोग लिइरहेका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्याल छन् । तीनजना सल्लाहकारको मातहतमा विज्ञ सदस्य तथा स्वकीय सचिव र अन्य सदस्यसमेत छन्।

सरकारको मूल्यांकनदेखि राष्ट्रिय मामिलामा समेत प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकारबाटै प्रभाव जमाउन खोजेको भन्दै सरकार र नेकपाभित्रबाटै आलोचना हुने गरेको छ । प्रधानमन्त्रीका सल्लाहकार भने त्यसलाई अस्वीकार गर्छन् । ‘हाम्रो काम प्रधानमन्त्रीलाई सहयोग गर्नु हो, सल्लाहकारमाथि लागेका आरोपमा सत्यता छैन,’ प्रेस सल्लाहकार अर्यालले भने।

मुख्य राजनीतिक सल्लाहकार रिमाल नेकपाका स्थायी समिति सदस्य हुन् । सचिवालयको संयोजन रिमालले गर्छन् । उनले राष्ट्रिय मामिला, मन्त्रालय, मुख्य सचिव तथा सचिवहरूसँग समन्वय गर्नेलगायतका जिम्मेवारी सम्हालेका छन् । उनी मजदुर आन्दोलन पृष्ठभूमिबाट आएका हुन् । रिमालले सिंहदरबारस्थित कार्यालयमा रहेर आफ्नो भूमिका निर्वाह गर्छन्।

जनसम्पर्क सल्लाहकार मैनालीले प्रधानमन्त्रीसँग हुने भेटघाटको चाँजोपाँजो मिलाउँछन् । कसैले पनि प्रधानमन्त्रीसँग भेट गर्नुभन्दा पहिला मैनालीसँग समय लिनुपर्छ । ‘हामी दिनभर प्रधानमन्त्रीज्यूलाई ककसले भेट्न चाहन्छन् ? प्रधानमन्त्रीलाई भेट्नैपर्ने अवस्था छ या छैन समीक्षा गरेर निर्णय गर्छौं, त्यसकै आधारमा भेटघाटको वातावरण मिलाउँछौं,’ मैनालीले भने । उनले पदीय हिसाबमा सल्लाहकार भए पनि मुख्य भूमिका प्रधानमन्त्रीको निजी सचिवालयलाई व्यवस्थित गर्नु रहेको बताए । कानुन व्यवसायीसमेत रहेका मैनाली पनि नेकपाका केन्द्रीय सदस्य हुन् । उनले पनि सिंहदरबारस्थित कार्यालयबाट जिम्मेवारी निर्वाह गर्छन्।

पत्रकारिताका विज्ञ रहेका प्रेस सल्लाहकार अर्यालले प्रधानमन्त्री कार्यालयको प्रेससम्बन्धी सम्पूर्ण जिम्मेवारीको संयोजन गर्छन् । ‘मिडियामा आएका विषयको जानकारी राख्ने र मिडिया समीक्षा गर्ने काम मेरो हो,’ अर्यालले भने । अर्यालले आफू मिडिया तथा सञ्चारकर्मीसँग सम्पर्कमा रहने बताए । ‘प्रधानमन्त्री कार्यालयमा मिडियाको पहिलो गेट मै हुँ’ अर्यालले भने । अर्यालको कार्यालय पनि सिंहदरबारमै छ।

सचिवालयमा यी तीन सल्लाहकार मातहत अन्य सदस्य पनि छन् । प्रधानमन्त्रीको मिडिया टिममा प्रेस संयोजक चेतन अधिकारी र प्रेस विज्ञ रामशरण बजगाईं छन् । अधिकारी ओलीको अघिल्लो कार्यकालमा पनि सचिवालयमा थिए । उनले प्रधानमन्त्रीका सबै भाषणको तथ्यांक राख्छन् । प्रधानमन्त्रीले गर्ने लिखित भाषण सम्पादन गर्नु, मौखिक भाषण रेकर्ड गर्नु र अन्य व्यवस्थापन गर्नु उनको जिम्मेवारी हो । अधिकारी प्रायः प्रधानमन्त्रीसँगै हिँड्छन्।

प्रेस विज्ञ बजागाईंले प्रधानमन्त्री निवास बालुवाटारबाट मिडियासँग जोडिएका विषय हेर्छन् । अनलाइन मिडियामा आएका विषयको रेकर्ड राख्नु उनको प्रमुख जिम्मेवारी हो । प्रधानमन्त्रीको मिडिया टोलीले प्रधानमन्त्री ओलीको व्यक्तिगत ट्विटर हेन्डल र प्रधानमन्त्रीको अफिसियल ट्विटर हेन्डलसमेत प्रेस टोलीले चलाउँछ । प्रधानमन्त्रीको मिडिया टिममा फोटोग्राफर कृष्ण पौडेल छन् । प्रधानमन्त्री पुगेका सबै कार्यक्रममा पुगेर तस्बिर र भिडियो खिच्नु, अभिलेख राख्नु उनको जिम्मेवारी हो।

प्रधानमन्त्री कार्यालयमा आवश्यक पर्ने लेआउट डिजाइनसम्बन्धी काम महेन्द्र श्रेष्ठले गर्दै आएका छन् । श्रेष्ठसँगै अवैतानिक विज्ञका रूपमा किरण माली र मनोज पाण्डे रहेका छन् । पाण्डेले नेपाल टेलिभिजनमा ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । असगर अली प्रधानमन्त्री कार्यालयमा आइटी कन्सल्ट्यान्ट हुन्।

प्रधानमन्त्रीको स्वकीय सचिव राजेश बज्राचार्य छन् भने उनी मातहत दीपेन्द्र दाहाल र रमेश भट्टराई सचिवालयमै कार्यरत छन् । बज्राचार्य प्रायः प्रधानमन्त्रीसँगै हुन्छन् । अन्य दुईजना प्रधानमन्त्रीसँगको भेटघाटमा सहजीकरण गर्छन्।

यसबाहेक प्रधानमन्त्री कार्यालयमा सरकारी कर्मचारी पनि कार्यरत छन् । उनीहरूले प्रधानमन्त्रीको दैनिक कामकारबाहीमा सहयोग पुर्याउने गर्छन् । प्रधानमन्त्रीका सल्लाहकार दैनिक बिहान ८ः३० भित्र बालुवाटार पुगिसक्छन् । दिउँसो ११ः३० भित्र उनीहरू सिंहदरबारस्थित कार्यालय पुग्छन् । प्रधानमन्त्री कार्यालयअन्तर्गतका सबैजसो कामको व्यवस्थापन सचिवालयले नै गर्छ।

प्रकाशित: २३ श्रावण २०७५ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App