२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

बुटवल– केन्द्रदेखि नै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले प्रदेश नम्बर ५ मा पनि सो मुद्दालाई जोडतोडले उठाइ रहेको छ। यसै क्रममा प्रदेश नं. ५ मा कांग्रेसले संविधान अनुरुप प्रदेशसभाको सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने मागसहित अदालतमा रिट दायर गरेको छ। काँग्रेसका तर्फबाट प्रदेश सभाको उपसभामुखकी उम्मेदवार सांसद रीना नेपाल विश्वकर्माले उच्च अदालत तुलसीपुर दाङ्गको बुटवल इजलासमा मंगलबार रिट दायर गरेकी हुन्।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था कार्यान्वयनका लागि पटक पटक माग गरिएपनि कुनै सुनुवाइ नभएपछि संविधान कार्यान्वयनका लागि अदालतमा रिट दायर गरेको सांसद विश्वकर्माले बताइन्। रिटमा प्रदेशसभा सचिवालय, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारुलाई विपक्षी बनाइएको छ। नेपालको संविधानको धारा १८२ को उपधारा (२)को १ मा प्रदेश सभमुख र उपसभामुख फरक दलको हुनुपर्ने र दुइमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था छ। 

प्रदेश ५ मा गत फागुन ५ गते उपसभामुखका लागि निर्वाचन भएको थियो। जसमा हालका नेकपा तथा तत्कालिन एमालेका सांसद कृणी थारु र काँग्रेसका तर्फबाट सांसद रिना नेपाल विश्वकर्मा उम्मेदवार थिए। पार्टी एकता हुनुअघि तत्कालिन माओवादीबाट सांसद पूर्णबहादुर घर्ती सभामुख र एमालेका कृष्णी थारु उपसभामुख भएका हुन्। तर पार्टी एकता भएर नेकपा भएपछि भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संविधान अनुरुप सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग अगाडि सारेको हो। उसले संसदमा दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षका हैसियतले उपसभामुखमा दाबेदारी समेत गरेको छ। कांग्रेसले प्रदेश ५ मा यही बिषयलाई लिएर गत आइतबार सदन समेत अबरुद्ध गरेको थियो।

प्रकाशित: १६ श्रावण २०७५ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App