२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

काठमाडाैं - झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए । उनको यो भनाईको सर्वत्र अलोचना भएको छ । बङ्लादेश पढ्न जाने नेपाली छोरीचेली बारे उनले दिएकाे याे अभिव्यक्तिकाे सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ। 

कानुनमन्त्रीको यो भनाइबारे टेलिफोनमा जिज्ञासा राख्दा उनले भने ‘मैले पढ्न जाने छात्राहरु अहिले कती असुरक्षित छन् र उनीहरुमाथी कती हिंसा भइरहेको छ भन्ने कुरा प्रष्ट पार्न यो वाक्य बोलेको हुँ । यो एउटा साधारण वाक्य थियो।’ 

तपाइ आफुले बोलेको कुरामा माफी माग्न चाहनुहुन्न भन्ने प्रश्नमा भने उनले आफुले यसबारे सोचिरहेको बताए । तर हालसम्म माफी भने नमागेको बताए । यो वाक्यले कसैलाई असर गरेको भए आफु माफि माग्न तयार रहेको उनले बताए । कानुनमन्त्री तामाङले यो कुरालाई नकार्न खोज्लान तर उनले यो शब्द हतारमा सोचविचारनै नगरी बोलेको देखिन्छ। 

कानुनमन्त्रीको यहि वाक्यलाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराइले ट्विटरमा असन्तुष्टि व्यक्त गरे । उनले मन्त्री जस्तो पदमा बसेको जिम्मेवार व्यक्तिले यस्तो अभिव्यक्ति दिनु आपत्तीजनक रहेको बताए । सरकारले यसको स्वतन्त्र छानविन गर्नुपर्ने माग भट्टराइले राखे। 

यस्तै नेकपामा नेता नारायणकाजी श्रेष्ठले समेत ट्विटरमा भनेका छन् 'ब्यबसायी दुर्गा प्रसाईंले बङगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ। यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु ।साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुखद छ।सरकारको गम्भीर ध्यान जाओस।

यस्तै बिड मेनेजमेन्ट प्रा.लि.का सुजिव शाक्यले मन्त्रीको भनाईले हामीहरुको सोँच र कल्पनाशक्ति कति गरिब छ भन्ने कुरा प्रतिविम्बित गरेको बताए । उनले अधिकांश नेपाली नेताहरु सस्तो भाषणकला, भ्रष्टाचार, कानुनविपरितका क्रियाकलापबाट माथी उठेको बताउदै राज्यको उच्च पदमा आसीन व्यक्तित्वमा शुन्य उत्तरदायित्व अनुमान समेत गर्न नसकिने बताए। 

केहिदिन अघि प्रसाइले समेत बङ्गलादेशमा एमबिबिएस पढ्न गएका छात्राहरुलाई नेपाल फर्किन किन ९ वर्ष लाग्छ तर उनीहरुकै पुरुष समकक्षी भने पाँच वर्षपछिनै फर्कन्छन् नि भनी प्रश्न गरेका थिए । त्यसपछि जवाफ दिने क्रममा उनले नेपाली महिला विद्यार्थीहरुले प्रमाणपत्र पाउन आफुलाईनै बेच्ने गरेकोले समय लाग्ने गरेको बताएका थिए । उनको यो भनाईको सामाजिक संञ्जालमा व्यापक विरोध भएको थियो भने बङ्लादेशमा रहेको नेपाली  विद्यार्थीको संगठनले प्रेस विज्ञप्तीनै जारी गर्दै प्रसाईको उक्त अभिव्यक्तिको निन्दा गरेको थियो । विज्ञप्तीमा प्रसाइको यो भनाइले बङलादेशमा अध्यनरत नेपाली चेलीहरुको अस्मीतामाथिनै प्रश्न उठाएको उल्लेख गरिएको थियो । विज्ञप्तीमा  विद्यार्थीको उपस्थिती तथा उसको प्रगती विवरण अनुसार एमबिबिएसकाे समय तल माथी हुन सक्ने बताइएको छ। 

 

प्रकाशित: ६ श्रावण २०७५ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App