७ वैशाख २०८१ शुक्रबार
राजनीति

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन्। 

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमाथि सुरक्षाकर्मीले आक्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न चेतावनी दिएका हुन्। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए। 

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका छन्। यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि उनले दिएको कांग्रेसले जनाएको छ। 

कांग्रेसद्वारा भत्सर्ना

यसैबीच, नेपाली काँग्रेसले नेपाल तरुण दलले नयाँ बानेश्वरमा निकालेको शान्तिपूर्ण जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे दुःख व्यक्त गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शनिबारै विज्ञप्ति जारी गरी नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक आक्रमण भएको भन्दै निन्दा गरेका छन्।

काँग्रेसले आन्दोलनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत चार दर्जनभन्दा बढी घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ। 
यसैबीच, आन्दोलनका क्रममा घाइते भएका नेता तथा कार्यकर्तालाई सभापति शेरबहादुर देउवा एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पताल नै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

काँग्रेसले आफ्नो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान भएको जनाएको छ। अनशनको तेस्रो साता पूरा भइसक्दा पनि वार्तामार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनु दुःखद कुरा भएको बताएको छ। 

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा निरन्तर आन्दोलन गर्ने काँग्रेसले बताएको छ।

प्रकाशित: ५ श्रावण २०७५ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App