१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

पोखरा– प्रदेशसभा स्थापना भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकलाई ओलीले सम्बोधन गर्नेछन्। प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रधानमन्त्री ओलीले दिउँसो १२ः४० बजे संसद बैैठकमा सम्बोधन गर्ने जानकारी दिइन्। प्रधानमन्त्री ओलीले बैठक सम्बोधन गर्ने भएपछि त्यसकै तयारीको लागि बुधबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको उनले जनाईन्।

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भएपछि संसद सचिवालयले सबै सांसदलाई साढे १२ बजे उपस्थित हुन सूचना जारी गरेको छ। यस्तै, सुरक्षा व्यवस्थाको तयारीको लागि सर्कुलर जारी गरिएको संसद सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए।

संसदमा प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशका सम्भावनका विषयमा धारणा राख्ने अनुमान गरिएको छ। प्रदेशको नाम र स्थायी राजधानी तोक्ने दोश्रो प्रदेश गण्डकी हो। राजधानीमा सर्वसम्मत भएतापनि नाममा भने केही असन्तुष्टि देखिएको थियो। यद्यपि दुईतिहाई बहुमतले गण्डकी नाम पारित गरेसँगै असन्तुष्टिहरु पनि साम्य भएका छन्।

संविधानको धारा १८४ तथा प्रदेशसभा नियमावलीको नियम ३५ अनुसार प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्दा मात्रै संसद बैठकलाई सम्बोधन गर्न पाउने व्यवस्था छ। तर, संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रममा अवरोध नगर्ने भएको छ। तर, ओलीको सम्बोधन पश्चातका बाँकी दुई बैठक भने चल्न नदिने जनाएको छ।

कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकले तयार पारेको कार्यसूची अनुसार बिहीबार तीनवटा बैठक बस्नेछ। पहिलो बैठकमा प्रदेश प्रमुखले प्रमाणीकरण गरेका विधेयकको जानकारी संसदमा दिने र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्रीको सम्बोधनपश्चात अर्को बैठकमा प्रदेशसभा व्यवस्थापन सम्बन्धिको विधेयक टेबुल गर्ने र प्रधानमन्त्रीलाई धन्यवाद दिने एजेण्डा रहेको छ। तर, पछिल्ला दुई बैठकमा भने अवरोध गर्ने कांग्रेसका सांसद कुमार खड्काले जानकारी दिए। उनी कार्यव्यवस्था परामर्श समितिका सदस्य समेत हुन्।

खड्काका अनुसार कांग्रेसले केन्द्रिय कार्यक्रम बमोजिम नै सदन अवरुद्ध गर्न लागेको हो। ‘डा. गोविन्द केसीको अनसन, महंगी, सभामुख÷उपसभामुख एउटै दलको हुँदा संविधानको उल्लंघन भएको लगायतको विषयमा सदन अवरुद्ध गर्नेछौँ।’ उनले भने, ‘यो गण्डकी प्रदेशको मात्र नभई नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम हो।’

प्रकाशित: २ श्रावण २०७५ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App