१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव र अन्य पदाधिकारीलाई मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले कलंकी–थानकोट र चावहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी छिटो भन्दा छिटो पुर्न निर्देशन दिएका हुन्। साथै देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा अधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन उनले निर्देशन दिए।

केही दिनअघि प्रधानमन्त्री ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा ‘अब भत्किएका सडक काठमाडौंमा नदेखिने’ बताएका थिए। उनले यो अवस्था अघिल्लो सरकारले निम्त्याएको र आफ्नो सरकारले समाधान गर्ने घोषणा गरेका थिए।

यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि १५ दिनभित्र उपत्यकाको सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए। तर कार्यान्वयन नहुँदा अहिलेसम्म सडकमा यत्रतत्र खाल्डाखुल्डी छन्।

यातायात मन्त्रालयका पदाधिकारीसँगको छलफलमा ओलीले सार्वजनिक यातायातमा रहेको सिन्डिकेट सदाका लागि अन्त्य गर्न उपयुक्त योजना बनाउन निर्देशन दिएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए। ‘सार्वजनिक यातायातलाई भरपर्दो, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपाङ्ग लगायतलाई प्रदान गरिने आरक्षण सीट सुविधाको उपभोगलाई सहज बनाउन प्रधानमन्त्रीज्यूबाट निर्देशन भएको छ’, प्रवक्ता कुँवरले भने।

उनका अनुसार छलफलमा यातायात मन्त्री महासेठले सडक वत्ती, चावहिल–बौद्ध–जोरपाटी सडक र कलंकी–थानकोट सडक एवं उपत्यकाका सडकका खाल्डाखुल्डीको व्यवस्थापनका सम्बन्धमा आगामी ५० दिनभित्र महसुस हुनेगरी सुधार गर्ने कार्ययोजना रहेको जानकारी गराएका थिए। उनले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

 

प्रकाशित: २७ असार २०७५ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App