२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

जुम्ला– चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। जुम्लाका पूर्व सांसददेखि सर्वसाधारण र नागरिक समाज सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गर्न थालेको हो।   

जिल्ला खेलकुद विकास समितिको कार्यालयको कवर्डहलदेखि शुरु भएको दबाब मुलक जुम्लावासीको जुलुस कालेखोली हुँदै जिल्ला प्रहरी कार्यालयबाट टुँडिखेल हुँदै बालमन्दिरमा पुगेर टुंगिएको छ। ‘डा. केसीको जीवन रक्षा गर, स्वास्थ्यमा लुटतन्त्रको अन्त्य गर, लुटतन्त्र कहिलेसम्म, हामी छौं, जहिलेसम्म, स्वास्थ्य क्षेत्रका माफिया होसियार, डा. केसीका जायज माग पुरा गर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई शुरु गर’ लगायतका नाराका साथ जुलुस निकालिएको थियो।

बालमन्दिरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै पूर्व सांसद ललितजंग शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस पढाई शुरु गर्ने लगायतका माग राख्दै जारी डा केसीको अनशनमा ऐक्यबद्धता जाहेर गरे। उनले विपन्न, गरिब सर्वसाधारणको स्वास्थ्य अवस्था बलियो बनाउदै डा. केसीको पन्ध्रौ अनशन सफल बनाउन सबैमा अपिल गरे। ‘डा. केसीका माग सम्बोधन गर्न पटक पटकका सरकार समझदारी गर्न बाध्य भएकै हुन, ति समझदारीको ईमान्दारिताका साथ पालना भएमा कुनै प्रकारको आन्दोलन बेहोर्नुपर्ने अवस्था आउँदैन्’ शाहीले भने। डा. केसीले जुम्लालाई अनसनको थलो बनाएर जुम्लावासीको मुटुको धड्कन बनेको उनको भनाई थियो।

‘स्वास्थ्य उपचारबाट बञ्चित भएका डा. केसी जीवन मरणको दोषाधमा छन’, उनले भने, ‘यथाशिघ्र डा.केसीका माग पुरा गर्नको लागि आग्रह गर्दछौं। सरकार र डा केसीबीच भएका सहमति कार्यान्वयन भएमात्रै सबै समस्याको हल हुने उनको तर्क छ। डा. केसीको स्वास्थ्यमाथि खेलवाड गरेमा सरकारलाई घुडा टेकाउनको लागि जुम्लावासी तयार रहेको उनले चेतावनी दिए। ‘जुम्ला तातिँदैन, तातेपछि सरकारलाई घुडा टेकाएरै छाड्छ।’

यसअघि नागरिक समाज जुम्लाले डा. केसीको जीवन रक्षाको माग गर्दै मंगलबार अर्धनग्न जुलुस निकालेको थियो। नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सर्वसाधारण जनताले भोग्नु परेको समस्यालाई दृष्टिगत गर्दै डा. केसीले माग उठाएको भन्दै माग पुरा गर्नको लागि सबैमा अपिल गरेका छन्। 

प्रकाशित: २० असार २०७५ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App