नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले पार्टीले २१औँ शताब्दीको विशेषतासहितको नयाँ क्रान्तिको बाटो तय गरिरहेको बताएका छन्।
उनले जनयुद्धकालीन क्रान्तिको मोडेल अब पुरानो भइसकेकाले नेपाली परिवेश सुहाउँदो नयाँ बाटो कोर्न आवश्यक रहेकोमा जोड दिए।
शनिबार कटारी नगरपालिकाको पर्यटकीय स्थल बेतिनी भञ्ज्याङमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो नगर परिषद्लाई सम्बोधन गर्दै गजुरेलले भने, ‘हिजोको क्रान्तिको बाटो पुरानो भइसक्यो, अब त्यो बाटो हिँडेर गन्तव्य चुम्न सकिँदैन। त्यसैले पार्टीले एक्काइसौँ शताब्दीको मूल्य, मान्यता र विशेषतासहितको नयाँ क्रान्तिको बाटो तय गरिरहेको छ।’
उनले चीन र रुसको जस्तो नक्कल गरिएको मोडेल नभई नेपाली माटो र समाज सुहाउँदो मौलिक क्रान्तिको बाटो तय गर्न पार्टीभित्र नयाँ नीति र विचार निर्माणको काम सुरु भइसकेको उल्लेख गरे।
पार्टीलाई जीवन्त राख्नुपर्ने बताउँदै गजुरेलले पार्टी जीवनमा आउने उतारचढावलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिए।
उनले भने, ‘माओवादी युद्ध पनि लड्यो, शान्ति प्रक्रियामा पनि आयो र केही उपलब्धि पनि हासिल गर्यो। अहिले पनि माओवादी नेपाली राजनीतिको केन्द्र भागमै छ र संविधान र गणतन्त्र हाम्रै एजेन्डा हुन्।’
यद्यपि, पार्टीले जनतासँग गरेका वाचाहरू पूरा गर्न अन्य दल र तत्वहरूले बाधा खडा गरेको उनको विश्लेषण थियो। हिजो पार्टीले विरोध गरेका नातावाद, कृपावाद, भ्रष्टाचार र ढिलासुस्तीजस्ता विषयमा आज जनताले माओवादीलाई नै आरोप लगाउनु गम्भीर समीक्षाको विषय भएको उनले स्वीकार गरे।
‘हिजो जुन कुराको विरोध गरेका थियौँ, आज त्यही गर्दै हिँडेको भन्ने जनताको आरोपप्रति सचेत हुनुपर्छ,’ गजुरेलले भने, ‘यो व्यवहारिक पाटोलाई गम्भीर समीक्षा गर्दै जनताको विचार र भावनाको कदर गरेर अघि बढ्नुपर्छ।’
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू मोहनबहादुर खत्री, केपी बराल, जिल्ला संयोजक विनोद कटुवाललगायत प्रदेश कमिटीका नेताहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: २१ असार २०८२ २०:५७ शनिबार